logo
२०८१ बैशाख ७ शुक्रवार



हस्तान्तरणको चरणमा बलेवा विमानस्थल

खुला |
प्रदेश |


हस्तान्तरणको चरणमा बलेवा विमानस्थल


नवीन शिशिर विक
बागलुङ, फागुन २६ गते । बागलुङको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको छ । कोरोनाका कारण विगत तीन वर्षदेखि अधुरो रहेको विमानस्थल यस वर्ष कालोपत्रे गरिएको हो । विमानस्थल हस्तान्तरणको अन्तिम चरणमा रहेको निर्माण कम्पनीले जनाएको छ ।

विमानस्थल सुरु भएको छ दशकपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले धावन मार्ग कालोपत्रे गरिएको छ । बागलुङ नगरपालिका –१४ बलेवामा निर्माणाधीन विमानस्थलको निर्माण जिम्मेवारी ‘काण्ठमण्ड उमा जेभी’ ले लिएको छ । चैत मसान्तभित्र विमानस्थलको रंगरोगन सकेर प्राधिकरणलाई हस्तान्तरण तयारी भएको साइड इन्चार्ज वासु थापाले जानकारी दिनुभयो ।

एयरपोर्टमा साना तथा मझौला जहाज अबतरण गर्न सक्छन् । ‘सिंगो एयरपोर्ट एक प्रतिशत मात्रै स्लोपको छ, त्यसैले यहाँ दुवै साइटबाट जहाज अवतरण गर्न सक्छ’ उहाँले भन्नुभयो । प्राधिकरणको आठ करोड २४ लाख ३४ हजार रुपियाँमा कालोपत्रेको काम ठेक्का लगाएको थियो । बलेवा विमानस्थल ७ सय मिटर लामो कालोपत्रे गरिएको छ ।

प्राधिकरण परियोजना व्यवस्थापक सत्यनारायण दुवालका अनुसार एयरपोर्ट निर्माण र गुणस्तर बारेमा नियमित अनुगमन भएको बताउनुभयो । ‘कोरोनाका कारण पटक पटक भएको निषेधाज्ञाले निर्माणकार्य प्रभावित भए पनि अहिलेको काम सन्तोषजनक रहेको उहाँले चर्चा गर्नुभयो । चैत मसान्तमा हस्तान्तरण भएपछि हवाइ उडानबारे काम शुरु हुने थापाको भनाइ छ । विमानस्थल सञ्चालन भएमा बागलुङ, पर्वत र म्याग्दीका बासिन्दालाई राजधानी र भैरहवा लगायतका स्थानमा हवाई मार्गले जोड्नेछ ।

बलेवा क्षेत्रका स्थानीयले श्रमदान गरी २०१६ देखि २०१८ सम्ममा हवाई मैदान बनाएका थिए । आठसय मिटर लामो विमानस्थलमा २०५० सम्म नियमित जहाज चल्थे । बलेवाबाट काठमाडौं, पोखरा र भैरहवाका नियमित उडान भैरहेकोमा पोखरा बागलुङ सडक खुलेपछि रोकिएको वडाध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो ।

विमानस्थलमा सातसय मिटर लामो पक्की नालीसमेत बनेको छ । मैदानमा एक हजार पाँचसय मिटर लामो घेरबार बनाइएको छ । एउटा मुख्य गेट र अर्को आपतकालीन गेट तयार भएको छ । मैदानको सबै भाग एक किमी लामो छ । तर हाल ७ सय मिटर लामो क्षेत्रमा तारबार लगाइएको छ । मैदान ६० मिटर चौडा सम्याइएपछि १८ मिटर कालोपत्रे भएको छ । यहाँ १८ देखि २० सिट क्षमताका जहाजहरु चल्ने दुवालले बताउनुभयो । विमानस्थल बागलुङ सदरमुकामदेखि कालीगण्डकी करिडोरको करिब १० किलोमिटर सडक यात्रा पार गर्दै त्यहाँ पुग्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?