logo
२०८१ बैशाख १३ बिहीवार



स्वास्थ्यचौकी र विद्यालयलाई फिल्टर वितरण

खुला |
प्रदेश |


स्वास्थ्यचौकी र विद्यालयलाई फिल्टर वितरण


नवीन शिशिर विक
बागलुङ, फागुन २६ गते । बागलुङका दुई स्थानीय तहका विद्यालयमा स्वच्छ खानेपानी तथा सरसफाईका लागि फिल्टर बाल्टी वितरण गरिएको छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकी र सामुदायिक विद्यालयमा वाइनटु वाटर नेपालले ८० वटा फिल्टर वाल्टी र फिल्टर राख्ने स्ट्याण्ड वितरण गरेको हो ।

संस्थाले ८० वटा फिल्टर सेट वितरणका लागि ६ लाख ९६ हजार रुपियाँ खर्च गरेको फिल्टर वितरण स्थानीय व्यवस्थापक गुँहेली सञ्चार सहकारीका अध्यक्ष खिमबहादुर कार्कीले जानकारी दिनुभयो । प्रतिफिल्टर बाल्टी र स्ट्याण्डको आठ हजार सातसय रुपियाँ लागत परेको उहाँले बताउनुभयो ।

संस्थाले सातवटा स्वास्थ्य चौकी तथा स्वास्थ्य एकाई र २५ वटा विद्यालयलाई फिल्टर वितरण गरेको थियो । स्वास्थ्य चौकीलाई एक र विद्यालयतर्फ प्राविमा विद्यार्थी सङ्ख्याको आधारमा एक–दुई तथा मावि तहमा न्यूनतम चारदेखि सात वटासम्म प्रदान गरेको अध्यक्ष कार्कीको भनाइ छ ।

विद्यालय तथा स्वास्थ्य चौकीमा आउने सेवाग्राहीलाई शुद्ध पिउने पानीको व्यवस्थापन गर्न संस्थाले सहयोग गरेको हो । दुवै स्थानीय तहका सीमित विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो । संस्थाले कोभिड –१९ को पहिलो वर्षपछि काठेखोला गाउँपालिकमा स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको थियो ।

काठेखोला गाउँपालिकका अध्यक्ष अमरबहादुर थापाले कोभिड –१९ ले व्यक्तिगत सरसफाई शिक्षालाई व्यापक बनाएको उल्लेख गर्दै नियमित गर्नुपर्ने बताउनुभयो । स्वास्थ्य तथा सरसफाइको क्षेत्रमा सामाजिक सङ्घ संस्थाले खेलेको भूमिमा उल्लेख्य रहेको बताउदै अध्यक्ष थापाले व्यक्तिगत आनिबानी सुधारमा पनि संस्थाले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?