logo
२०८१ बैशाख १३ बिहीवार



दुई छोरी जन्माउने २६ दम्पती सम्मानित

खुला |
प्रदेश |


दुई छोरी जन्माउने २६ दम्पती सम्मानित


तिलाचन पाण्डे
तम्घास, फागुन २६ गते । चन्द्रकोट गाउँपालिकाले दूई छोरी जन्माउने २६ दम्पतीलाई सम्मानित गरेको छ । समाजमा अझै पनि छोरा नै चाहिन्छ भन्ने मानसिकता कायम रहेकाबेला छोराछोरी समान हुन् भन्ने सन्देश प्रवाह गर्न उहाँहरुलाई सम्मानित गरेको गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिनुभयो ।

दुई छोरी जन्माई पछिल्लो छोरी १० बर्ष उमेर पूरा भएका २६ जना दम्पतीलाई सम्मानपत्रले सम्मानित गरिएको खत्रीले बताउनुभयो । सम्भव भएका दम्पतीलाई नै सम्मान गरिएको र सम्भव नभएका श्रीमान वा श्रीमतीमध्ये एक जनालाई सम्मानित गरिएको गाउँपालिकाले जनाएको छ ।

चन्द्रकोट गाउँपालिका ५ ग्वाघाका उदयबहादुर पुनले गाउँपालिकाले समाजमा राम्रो सन्देश प्रवाह गरेको बताउनुभयो । छोराछोरी समान भएको भन्दै छोरा नै चाहिन्छ भन्ने मानसकिता हटाउन सम्मान कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।

कान्छी छोरी १० बर्ष भएकी छन्, जेठी छोरी १८ बर्षकी भएको पुनले बताउनुभयो । पुनका दम्पतीलाई नै गाउँपालिकाले सम्मानित गरेको छ । पुनकी श्रीमती जिल्ला समन्वय समिति गुल्मीका सदस्य हुनुहुन्छ ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले चन्द्रकोट गाउँपालिकाले कानून कार्यान्वयन गरेको बताउनुभयो । नेपालको संबिधानले पनि छोराछोरी समान रुपले हेरेको भन्दै लैगिंक समानताको कदमलाई सबैले अनुशरण गर्नुपर्ने बताउनुभयो । चन्द्रकोटले सुरु गरेको कार्यबाट सबैले पाठ सिक्नुपर्ने र लैगिक आधारमा हुन विभेदलाई अन्त्य गर्न लाग्नुपर्ने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?