logo
२०८१ बैशाख १४ शुक्रवार



भ्रष्टाचारविरुद्ध लडनु आजको आवश्यकता हो : आयुक्त चन्द

खुला |
प्रदेश |


भ्रष्टाचारविरुद्ध लडनु आजको आवश्यकता हो : आयुक्त चन्द


नागेन्द्रकुमार कर्ण
जलेश्वर, फागुन २६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचार र समाजमा व्याप्त विकृति, विसंगतिविरुद्ध लडनुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ । महोत्तरी सदरमुकाम जलेश्वरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन’ विषयक् कार्यक्रममा आयुक्त चन्दले सो कुरा बताउनुभयो । हामीले मानवोचित् काममा सरिक नहुदाँ समाजमा भ्रष्टाचार, विकृति, विसंगति फस्टाएको उहाँले चर्चा गर्नुभयो । ‘मानव भएर जन्मेपछि हामीले मानवतालाई सार्थकता तुल्याउने काम गर्न जरुरी छ’ उहाँले भन्नुभयो ।

समाजमा भएको गलत प्रबृत्तिको वहिष्कार नगरुञ्जेल विकृतहरु समाजबाट नघट्ने उहाँले बताउनुभयो । समाजमा खराब भएको व्यक्तिलाई खराब र राम्रोलाई राम्रो नभनेसम्म विकृति अन्त्य नहुने उहाँले बताउनुभयो । अख्तियारमा पर्ने जुनसुकै उजुरीको छानविन हुने उहाँले बताउनुुभयो । उजुरी छानविनमा सहयोग नगर्ने परिपाटीले उजुरी फछ्र्योटमा समय बढी लागेको उहाँले बताउनुभयो ।

‘चोरलाई चोर भन्यो भने पीडा हुन्छ’ भन्नुहुँदै आयुक्त चन्दले जनप्रतिनिधिलाई भ्रष्टाचार नगर्न आग्रह गर्नुभयो । उहाँहरुलाई जनताको हितमा काम गर्न सुझाव दिनुभयो । सरकारी कर्मचारी समयमा कार्यालय नजाने, आसन लगाएर बस्ने, काम नगर्नेजस्ता सामाजिक विकृतिका समस्या बढेको उहाँले बताउनुभयो । विकृति रोक्न अख्तियार अग्रसर भएको पनि उहाँले जानकारी दिनुभयो ।

अख्तियारको उपस्थितिकै कारण पचास प्रतिशतभन्दा बढी भ्रष्टाचारजन्य विकृतिमा कमी आएको उहाँले दावी गर्नुभयो । अख्तियार एक्लैको प्रयासले भ्रष्टाचारजन्य विकृति अन्त्य नहुने भन्दै उहाँले समाजले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । अख्तियारले पनि कानुनसम्मत रुपले काम कारवाही गर्ने गरेको उहाँले प्रष्ट पार्नुभयो । सहभागीले अख्तियारले कामकारवाहीमा ढिलासुस्ती गर्ने गरेको, समयमा छानवीन नगर्ने गरेको, कानुनअनुसार काम नगर्ने गरेको गुनासो गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेशप्रसाद सिंहले जिम्मेवारबाट भागेर काम गरेर समाज बन्न नसक्ने बताउनुभयो । असल व्यक्तिको प्रचार प्रसार गरी उहाँहरुको अनुकरण गर्न आग्रह पनि उहाँले गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह न्यायाधिवक्ता घनश्याम ओझा तथा बर्दिबास कार्यालय प्रमुख सहसचिव गोपालकुमार अधिकारीले भ्रष्टाचार न्यूनीकरण गर्नेबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । आयोगमा परेको उजुरीमध्ये ६४ प्रतिशत उजुरी फछ्र्यौंट भएको आयोगले दावी गरेको छ । कुल २२ हजार ६२५ उजुरीमध्ये १४ हजार ५३२ उजुरीहरु फछ्र्यौंट भएको आयोगले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, अख्तियारका बर्दिबास प्रमुख गोपालकुमार अधिकारी, औरहीका नगरप्रमुख सुनिल यादव, उपप्रमुख रेणु झा, गौशलाका नगरप्रमुख शिवनाथ महतो, जलेश्वर नगरपालिकाका वडाध्यक्ष बरुण दाहाल लगायतले सल्लाह, सुझाव दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?