logo
२०८० चैत्र १६ शुक्रवार



तटबन्ध र हुलाकी सडक बनाउन माग गर्दै प्रदर्शन

खुला |
प्रदेश |


तटबन्ध र हुलाकी सडक बनाउन माग गर्दै प्रदर्शन


अविनाश चौधरी
धनगढी, फागुन २६ गते । कान्द्रा नदी पीडित कैलालीको भजनी नगरपालिका –५ लालबोझीका स्थानीवासी आन्दोलित भएका छन् । कान्द्रा नदीमा तटबन्ध र नदीले कटान गरेको हुलाकी राजमार्ग बनाउन माग गर्दै स्थानीय आन्दोलित भएका हुन । नदी कटान नियन्त्रण गर्नुपर्ने, हुलाकी राजमार्ग चाँडै बनाउनु पर्ने माग राख्दै सो गाउँवासीले बिहीबार प्रदर्शन गरेका छन् । हुलाकी राजमार्गमा काठ तेस्र्याएर स्थानीयले प्रदर्शन गरेको बताएका छन् । गत बर्खामा आएको बाढीले लालबोझीमा स्थानीयको जग्गासहित हुलाकी राजमार्ग कटान गरेको थियो । नदी कटानका कारण लालबोझीको कैयौं परिवार विस्थापित भएका छन् ।

विस्थापितमध्ये पाँच परिवार हुलाकी राजमार्गमा बस्दैआएका छन् । नदीले लालबोझीवासीको उठिबास गराउन थालेपनि कटान नियन्त्रणमा सरकारले ध्यान नदिएको स्थानीयको गुनासो छ । माग सुनुवाई नभएपछि प्रदर्शनमा उत्रन आफूहरु बाध्य भएको सो गाउँका खोजराम चौधरीले बताउनुभयो ।

लालबोझी गाउँवासीले विगतदेखि नै बर्खामा कटान र डुवान समस्या भोग्दै आएका छन् । नदीले कटान गर्दैआएको ठाउँमा तटबन्ध गर्नुपर्ने स्थानीयवासीको माग छ । त्यसैगरी, हुलाकी राजमार्ग बनाउनु पर्ने अडान पनि राखेका छन् । तटबन्ध नहुँदा नदीले स्थानीयको ठूलै जग्गा कटान गरिसकेको भजनी नगरपालिका –५ का वडा सदस्य शेरबहादुर बोहराले बताउनुभयो ।

नदीले हुलाकी राजमार्ग कटान गरेपछि त्यहाँ सङ्घीय सरकारमार्फत पचास साठी करोड रुपियाँ लगानीमा बाँध बन्ने बताइएको छ । ८०० मिटर लामो बाँध बनेपछि मात्रै कालेपत्रेसहितको राजमार्ग बनाइने हुलाकी राजमार्ग आयोजनाको कार्यालय धनगढीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?