logo
२०८१ बैशाख ११ मंगलवार



मदाने गाउँपालिका खरका छाना मुक्त गाउँपालिका घोषणा

खुला |
प्रदेश |


मदाने गाउँपालिका खरका छाना मुक्त गाउँपालिका घोषणा


तिलाचन पाण्डे
तम्घास, फागुन २६ गते । मदाने गाउँपालिका खरका छाना मुक्त गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाभित्र रहेका एक हजार ५४ घरधुरीमा खरका छाना हटाई जस्तापाता लगाई गाउँपालिकालाई बिहीबार खरका छानामुक्त गाउँपालिका घोषणा गरिएको हो । जसअनुसार वडा १ मा १४१, वडा २ मा १८०, वडा ३ मा १४५, वडा ४ मा ३२, वडा ५ मा १०७, वडा ६ मा ५२ र वडा ७ मा ७० जना गरी कुल ७२९ घरमा खरका छाना हटाई जस्तापाता लगाइएको गाउँपालिकाले जनाएको छ ।

यस्तै एकीकृत बस्तीका १७ घर निर्माण, भूकम्पपश्चात पुनः निर्माण भएका निजी आवास अन्तर्गत १४१, नागरिक आवास अन्तर्गत १२८, जनता आवास अन्तर्गत ७ र नमूना वस्तीका ३२ घर निर्माण गरी कूल एक हजार ५४ घरधुरीलाई खरका छाना मुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिनुभयो ।

आफूहरुले २०७४ असार २० गते पद वहालीका दिन गरेको पहिलो निर्णय नै गाउँपालिकालाई खरका छाना मुक्त बनाउने निर्णय भएकाले सोहीअनुसार नै कामलाई तिव्रता दिएकाले अहिले घोषणा गर्न सम्भव भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले बताउनुभयो ।

आफूहरुले निर्वाचनको समयमा गरेका प्रतिबद्धताहरु ९० प्रतिशतभन्दा धेरै कार्यान्वयन भइसकेको भन्दै यस अभियानमा जुट्ने सबैलाई उहाँले धन्यबाद ब्यक्त गर्नुभयो । गाउँपालिका भित्रका नागरिकको घरमा जस्तापाता लगाएपछि आगलागीबाट हुने डर, बर्षायाममा पानी चुहिने समस्या र गरिबीका कारण बर्षेनी घरलाई छाउनुपर्ने अबस्थाको अन्त्य भएको गाउँपालिकाले जनाएको छ । खरका छाना मुक्त गाउँपालिका घोषणा गर्न जस्तापाता खरिद अन्तर्गत २ करोड ८४ लाख ३७ हजार ४२० रुपियाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकालाई बिहीबार गुल्मी क्षेत्र २ का सांसद तथा पूर्वमन्त्री गोकर्ण बिष्टले खरका छाना मुक्त गाउँपालिका घोषणा गर्नुभएको हो । गत असार २८ गते जिल्लामै पहिलो पटक धुर्कोट गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?