logo
२०८१ मंसिर १० सोमवार



फर्जी कागज तयार गर्नेविरुद्ध मुद्दा दायर

खुला |


फर्जी कागज तयार गर्नेविरुद्ध मुद्दा दायर


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत लिखत तयार गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैङ्कका एक जना तत्कालीन शाखा प्रबन्धकसहित चार जनाविरुद्ध आरोप पत्र दायर गरेको छ । आयोगले राष्ट्रिय वाणिज्य बैङ्क, जुम्लाका तत्कालीन शाखा प्रमुख रामजनक चौधरीसहित चार जनामाथि कारबाहीको माग गर्दै विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले शाखा प्रबन्धक चौधरीले वि.टी.÷टौदह÷फस्कु जेभीको तर्फबाट मध्यपश्चिम सडक डिभिजन कार्यालय नं. २, दाङ घोराहीको पक्षमा फर्जी अग्रिम भुक्तानी जमानत पत्रहरूमा हस्ताक्षर गरी गलत लिखत तयार गरेको पुष्टि भएको बताउनुुभएको छ । प्रबन्धक चौधरीले १९ लाख ३५ हजार रुपियाँको अग्रिम भुक्तानी जमानत पत्रमा हस्ताक्षर गरी लिखत तयार गरेको आयोगको अनुसन्धानबाट खुलेको हो ।

उक्त मुद्दामा निर्माण कम्पनीका तत्कालीन निर्देशक माधवप्रसाद भण्डारी, फस्कु निर्माण सेवा र सोका तत्कालीन प्रोपराइटर अर्जुनबहादुर बुढाथोकी, टौदह कन्स्ट्रक्सन र जेभीका प्रतिनिधि पुन्नबहादुर शाही र तीनवटै निर्माण कम्पनीमाथि समेत कारबाहीको माग गरेको हो ।
तीनैजनाले अग्रिम भुक्तानी जमानी पत्र तयार गरी पेस्की लिई लाभ लिएको आयोगले दाबी गरेको हो । सडक डिभिजन कार्यालय र बोलपत्रदाता कम्पनीबीच सम्झौता भएको ठेक्का नं. ०३–०७०÷०७१ सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माण कार्यमा चौधरीबाट फर्जी अग्रिम भुक्तानी जमानी पत्र तयार गरी गराई पेस्की लिएको आयोगको आरोप पत्रमा उल्लेख गरिएको छ ।

चारै जनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम कारबाहीको माग गरिएको आयोगले जनाएको हो । उक्त दफाबमोजिम राष्ट्रसेवक कर्मचारी, सङ्घ–संस्था वा कुनै व्यक्तिले गलत लिखत तयार गरे कसुरको मात्रा हेरेर तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?