logo
२०८१ बैशाख १८ मंगलवार



लोप हुँदै होली संस्कृति, विकृत हुँदै हाेली गीत

खुला |
प्रदेश |
समाज |


लोप हुँदै होली संस्कृति, विकृत हुँदै हाेली गीत
होली पर्व नजिकिँदै जाँदा सप्तरीको एक गाउँमा राति बुढापाकाहरु होली गीत गाएर मनोञ्जन गरिँदै । तस्विर – माला कर्ण



माला कर्ण
कल्याणपुर, फागुन २८ गते । सामाजिक सदभाव र माधुर्यता झल्काउने होली पर्वमा अश्लिल भोजपुरी गीत र विकृत क्रियाकलापले माधुर्यता र प्रेमभाव झल्काउने पौराणिक संस्कार र गीत लोप हुँदै गइरहेको छ । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईका गाउँ, घर, टोल, छिमेकमा गाइने माधुर्यता र प्रेमभावपूर्ण होली गीत गाउने मानिसको अभावका कारण लोप हुँदै गइरहेको छ ।

तराईको पूर्वी जिल्ला सप्तरीको कल्याणपुरका ५० वर्षीय श्रवण ठाकुर पुख्र्यौली मृदंग बजाई फागु गीत जोगिरा गाउन नपाएकामा दुःखी हँुदै भन्नुभयो, ‘ पहिले पहिले फागु गीत जोगिरा फागुन महिनाको आगमनदेखि नै फागुन पूर्णिमासम्म गाउँगाउँ, टोलटोल घुमेर फागु पर्वको आगमन भइसकेको छ भन्ने जानकारी गीत गाएर दिने गरिन्थ्यो । अहिले गाउँका युवा वैदेशिक रोजगारीमा गएका र गीत गाउने बुढापाका नभएका कारण न त त्यति मात्रामा ढोल, मृदंग नै बज्ने गर्छ, न त फागु गीत नै गाउन पाइन्छ – निरास हुँदै श्रवणले भन्नुभयो ।

विगतमा माओवादी निकटको सांस्कृतिक टोलीका कलाकार समेत रहेका श्रवणले परदेशीया ल धोतिया रङ्गावे गोरिया, हो रङ्गावे गोरिया.., जमुना तट श्याम खेलैय होरी, जमुना तट, किनकर हाथ कनक पिचकारी, किनकर हाथ अबीर झोरी.., .होलीका यी गीत गाउनुहुँदै यस्ता गीतहरु अहिले गाउन नपाएको गुनासो पोख्नुभयो ।
कल्याणपुर २ का ६७ वर्षीय रामचरित्र यादवले होली गीतमा पहिले कामोत्सवको मर्म, धार्मिक र आध्यात्मिक विशिष्टता, जीवनको उमंग, ऊर्जा, संस्कृतिको प्रभाव, परम्पराको आधार, माया प्रेम तथा राग लुकेको हुन्थ्यो तर अब भोजपुरी तथा विकृत गीतहरु आएकाले माधुर्यता र प्रेमभाव मिसिएको होली गीत विरलै सुन्न पाइन्छ, बताउनुभयो । उहाँले ‘जोगिरा सर...र...र... कौन तालपर ढोलक बाजे, कौन ताल मृदंग....कौन तालपर गोरिया नाँचे, कौन तालपर हम’ गीत नै सुन्न सकिन्छ न त मृदंग, ढोल, डम्फुको स्वर नै सुनिन्छ ।

सामाजिक सदभाव, सांस्कृतिक एवम् ऐतिहासिक पर्व फागुले रामचरित्रलाई मात्र होइन राजविराजको मैथिल साहित्य परिषदका पूर्व अध्यक्ष देवेन्द्र मिश्रलाई समेत प्रभाव पारेको छ । उहाँ भन्नुहुन्छ होलीको मौलिकतालाई गम्भीरतापूर्वक नलिएकाले अहिलेको होलीमा संकीर्णता छाएको छ । अबको होली होली नभएर उच्छरिंखल युवाहरुको सहरमुखी होली हुन पुगेकाले यसको पौराणिकतासँग जोडिएको होली गीत लोप भइरहेको छ ।

पहिला गाउँमा रातपरेपछि गाउँ बुढापाकाहरु एकतृत भई झ्याल, मृदंग, ढोल लिएर समूहगत रुपमा होली गीत गाउने गर्दथे ’ तर अहिले त्यो समय कहाँ रह्यो र गाउँका अधिकांश युवा कामका लागि विदेशमा गएका छन् भने बाँकी रहेका बुढापाकाले कहिलेकाहीँ मात्र जोगिरा गाउने गरेको बताउनु हुन्छ राजविराज २ का मुहमद आसिन मियाँ ।’

मैथिली जागरण मञ्चका अध्यक्ष समेत रहेका मियाँले होलीमा पौराणिकता र माधुर्यता हराउँदै गएको भनाइ राख्नुभयो । सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होली पर्वले सबै जातजातिलाई प्रभाव पारेको छ तर यसको रौनकता नै समाप्त भएर जान लागेको भान भएको छ उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?