logo
२०८१ बैशाख १३ बिहीवार



लिमीको चौंरी स्राेतकेन्द्र सरकारी बजेटमा बिस्तार हुँदै

खुला |
प्रदेश |


लिमीको चौंरी स्राेतकेन्द्र सरकारी बजेटमा बिस्तार हुँदै


राजन रावत
हुम्ला फागुन २९ गते । चौंरीपालनको राम्रो सम्भावना भएको उत्तरी नाम्खा गाउँपालिका –६ को हिमालपारिको गाउँ लिमीको स्राेतकेन्द्र नयाँ चौंरी थपेर विस्तार हुनेभएको छ । चौँरीको व्यावसायिक पालन सुरु गर्न लगातार तीन वर्षदेखि कार्यक्रम विस्तार हुँदैआएको हो ।

भेटेरीनरी अस्पताल तथा पशु विकास कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढथापाका अनुसार चौरीपालन व्यवसाय लोप हुनैलागेको बेला सरकारी तबरबाट स्राेतकेन्द्र स्थापना गरेर विस्तार गर्ने कार्य अगाडि बढिरहेको बताउनुभयो । उहाँले यसका लागि चालु आर्थिक वर्षमा पचास लाख रुपियाँ बजेटको व्यवस्था भएको जानकारी दिनुभयो । त्यसबाट सत्तरीवटा नयाँ चौंरी थप्ने कार्य हुने बताउनुभयो ।

यसका लागि कार्यक्रमका अख्तियारी आइसकेको र स्राेतकेन्द्रको व्यवस्थापन समिति जिल्लामा आई पुगेलगत्तै सम्झौता गरेर काम अगाडि बढ्नेछ । हालको स्राेतकेन्द्रलाई अझै विस्तृत गर्न थप चौरी थप्न लागिएको उहाँले बताउनुभयो । लिमीको तुम्लिङमा स्राेतकेन्द्र स्थापना गरेर चौंरीपालन हुँदैआएको छ । यसअघि सत्तरी वटा चौंरी स्राेतकेन्द्रका कार्यक्रमकबाट व्यवस्था गरिएको र त्यसबाट दुई वर्षमा १३० वटा चौरीको सङ्ख्या पुगेको थियो ।

पहिले दुई हजारभन्दा बढी चौंरी हुने लिमीका तीन गाउँमा स्थानीयले पालन छोड्दै आएका कारण सङ्ख्या एक सयमा झरेको थियो । यसलाई संरक्षण र विस्तार गर्न कर्णाली प्रदेश सरकारले कार्यक्रम अगाडि बढाएको छ । यसका लागि कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विशेष चासो राख्दै आउनुभएको छ । स्राेतकेन्द्रबाट हाल दुग्धजन्य वस्तु उत्पादन गरेर बिक्री सुरु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?