logo
२०८१ मंसिर ६ बिहीवार



ग्रामीण भेगमा वैकल्पिक उर्जाको स्रोत बन्दै गुईंठा

खुला |
प्रदेश |


ग्रामीण भेगमा वैकल्पिक उर्जाको स्रोत बन्दै गुईंठा


सन्तोष सुवेदी
सिरहा, फागुन २९ गते । बजारमा वनबाट ल्याइएको दाउरा र सिलिण्डरमा भरिएको ग्याँसलाई खाना पकाउन प्रमुख इन्धनको रुपमा प्रयोग गरिदैं आएकाबेला सिरहाको ग्रमीण भेगमा गोबरमललाई गुइँठाको रुपमा प्रयोग गरी गाउँलेहरुले वैकल्पिक इन्धनको रुपमा प्रयोग गरिरहेका छन् । तराई मधेशमा गाईवस्तुको गोबरमलबाट सदियौंदेखि बनाइने ‘गुईंठा’ खाना पकाउने ग्याँस र वनजङ्गलबाट ल्याएको दाउराको मूल्य बृद्धि हुँदै गएपछि यसको प्रयोग झन बढेको हो । गाउँका सर्वसाधारणले अचेल घरमा खाना पकाउन चुल्हो बाल्नेदेखि ठूला भोजभतेर र अन्तिम सँस्कारमा समेत गुईंठाको प्रयोग गर्न थालेका छन् ।

गाइवस्तुले त्यागेको गोबरमल जम्मा गरी पटुवाको पातलो डण्डा (सन्ठी) अथवा परालको पातलो मुठा बीचमा छोपिने गरी करिब पाँच ईञ्च मोटाई र तीनदेखि चार फिटसम्मको लम्बाई रहेको गुईंठा गाउँघरमा उत्पादन गरिन्छ । एउटा गुईंठा सुकेर दाउराको रुपमा प्रयोग हुन घाम लागेमा कम्तीमा १० देखि १५ दिन लाग्ने बताइन्छ । दाउराको तुलनामा बढी समय टिक्ने र रापिलो भएका कारण गाउँलेहरुले यसलाई वैकल्पिक खाना पकाउने इन्धनको रुपमा प्रयोग गर्नेगरेका छन् ।

‘गुईंठा बालिसकेपछि बनेको खरानी नगदेवालीको लागि प्रमुख मलको रुपमा पनि प्रयोग हुँदैआएको छ’ माडरका कृषक सञ्जय यादवले भन्नुभयो, ‘गुईंठाको खरानी विशेषगरी आलु, प्याज, लसुन तथा विभिन्न किसिमका तरकारी उत्पादनको क्रममा मलको रुपमा खेतमा प्रयोग हुन्छ । अन्य मलखाध तथा विषादी औषधीको प्रयोग गर्नुपर्दैन ।’

गाउँघरमा केही कृषकले त गुईंठाको व्यापार पनि गर्नेगरेको पाइएको छ । सिरहाको वस्तीपुर गाविस –८ निवासी सुरेश यादवले आफूले बनाएको गुईंठा आकारको आधारमा प्रतिथान पाँचदेखि दश रुपियाँसम्ममा विक्री वितरण गरेको जानकारी दिनुभयो ।

‘बजारमा खपत हुने ग्याँस नै हो तर ग्रामीण भेगमा अहिले पनि चुल्होचौकाको प्रचलन छ’, औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थदास यादवले भन्नुभयो– ‘यहाँ चुल्हो बाल्न केही मात्रामा सङ्कलन गरिएको दाउरा र झिक्राझिक्रीबाहेक बढी मात्रामा गोबरबाट बनेको गुईंठा नै प्रयोग हुँदैआइरहेको छ ।

गाउँघरमा कात्तिक महिनादेखि बैशाख मसान्तसम्म गुइँठा बनाउने र वर्षा हुनुअघि थन्क्याइने गरिन्छ । ‘वर्षा अगाडि नै गुईंठाको जोहो गर्नेगरेकाले हामीलाई वर्षाकोबेला दाउराको अभाव हुँदैन’, सिरहा नगरपालिका –१७ का वैधनाथ यादवले भन्नुभयो । वर्षामा वनबाट ल्याइने काठ दाउरा भिजेको हुनाले त्यसलाई दाउराको रुपमा प्रयोग गर्न सकिदैन, दाउराको प्रयोग त्यतिबेला गुईंठाबाटै हुनेगरेको छ उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?