logo
२०८१ बैशाख १९ बुधवार



ज्येष्ठ नागरिकका लागि मिलनकेन्द्रदेखि स्वास्थ्य उपचारसम्मका कार्यक्रम

खुला |
समाज |


ज्येष्ठ नागरिकका लागि मिलनकेन्द्रदेखि स्वास्थ्य उपचारसम्मका कार्यक्रम
फाइल फाेटाे



लक्ष्मण पौडेल
भैरहवा, फागुन ३० गते । रुपन्देहीका अधिकांश पालिकाहरुले जेष्ठ नागरिकलाई लक्षित गर्दै विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएका छन् ।
खासगरी जेष्ठ नागरिक ग्रामदेखि लिएर दिवा विश्रामगृह, जेष्ठ नागरिक कल्याण कार्यक्रम पालिकाहरुले आ–आफ्नो अनुकूलतामा बजेट बिनियोजन गरेर कार्यान्वयनमा ल्याएका छन् । त्यस्तै स्थानीय तहहरुले जेष्ठ नागरिक परिचयपत्र पनि प्रदान गर्दै आएका छन् ।

स्थानीय तहको सामाजिक विकास शाखाबाट प्रदान गरिने जेष्ठ नागरिक परिचय पत्र प्रदान गरेपछि सोही परिचयपत्रका आधारमा विभिन्न क्षेत्रमा छुट तथा आरक्षणको व्यवस्था गरिएको छ । बुटवल उपमहानगरपालिकाले जेष्ठ नागरिकका लागि घरघरमा नै गएर जेष्ठ नागरिक भत्ता प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । त्यस्तै जेष्ठ नागरिकको घरघरमै पुगेर स्वास्थ्य बीमा गर्ने कार्यक्रमलाई पनि अगाडि बढाइएको नगरप्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

सैनामैना नगरपालिका रुपन्देहीले भने जेष्ठ नागरिक ग्रामको परिकल्पनासहित काम अगाडि बढाएको छ । सैनामैनामा प्रदेशस्तरीय जेष्ठ नागरिक ग्राम तथा अपांगता नागरिक ग्राम निर्माणकार्य सुरु भएको नगरप्रमुख चित्रबहादुर कार्कीले बताउनुभयो ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाले जेष्ठ नागरिकहरुलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ । गतवर्षदेखि नै सुरु गरिएको यो कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिइएको नगरप्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो । यसरी स्वास्थ्य परीक्षणका क्रममा केही समस्या देखिए निःशुल्क औषधिको समेत व्यवस्था गरिएको छ ।

रुपन्देहीको सियारी गाउँपालिकाले आफ्नो पालिकाभित्रका स्वास्थय संस्थाहरुमा जेष्ठ नागरिकहरुलाई उपचारमा ५० प्रतिशत सहुलियतको व्यवस्था गरेको छ । जेष्ठ नागरिक परिचयपत्रका आधारमा यस्तो सहुलियत प्रदान गर्ने गरिएको गाउँपालिकाका अध्यक्ष अयोध्याप्रसाद थारुले बताउनुभयो ।

त्यसैगरी, जिल्लाका शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, मर्चवारी गाउँपालिकालगायतका स्थानीय तहहरुले जेष्ठ नागरिक मिलन केन्द्रको योजना अगाडि सारेका छन् । तिलोत्तमा नगरपालिकाले पनि जेष्ठ नागरिक मिलन केन्द्र निर्माण गर्दैछ । तिलोत्तमा नगरपालिका–९ मंगलापुरमा झण्डै १४ कठ्ठा क्षेत्रफलमा जेष्ठ नागरिक मिलन केन्द्रसँगै आकर्षक बाल उद्यान समेत निर्माण गरिने नगरप्रमुख वासुदेव घिमिरेले बताउनुभयो । यसै वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको केन्द्रमा जेष्ठ नागरिकमैत्री खेलकुद, पुस्तकालय, सङ्गीतालय, पार्क निर्माण गरिनेछ । निर्माण हुन थालेको केन्द्र नजिकैं ऐतिहासिक रामजानकी मन्दिर छ ।

तीव्र सहरीकरणसँगै युवापुस्ता कामकाजी भैरहँदा जेष्ठ नागरिकलाई आनन्ददायी तरिकाले समय बिताउन सहयोग पु¥याउने उद्देश्यले जेष्ठ नागरिक मिलन केन्द्रको अवधारणा ल्याइएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?