काठमाडौं, फागुन ३० गते । आँखामा खुर्सानीको धुलो छर्केर सुन तथा नगद लुटेको अारोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । योजनाबद्ध तरिकाले आँखामा खुर्सानीको धुलो छर्की, कुटपिट गरी तत्काल फरार रहेकामध्ये दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दाङको सौडियार गाउँपालिका–६ घर भई हाल काठमाडौं–१० शान्तिनगर बस्ने २८ वर्षीय महेश विश्वकर्मा र दाङकै घोराही उपमहानगरपालिका–८ रतनपुर बस्ने २४ वर्षीय राजेन्द्र सिन छन् । सिनलाई जिल्ला प्रहरी कार्यालय, दाङको सहयोगमा दाङबाटै पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार गत फागुन २५ गते राती काठमाडौंको चाबहिलस्थित ओम शाही टञ्च सेन्टर सुन पसल बन्द गरेर घर फर्किने क्रममा ३४ वर्षीय अमोल भोस्लेमाथि अाक्रमण भएको थियो ।
भोस्लेले पसलबाट ४२ तोला सुन र १२ लाख रुपियाँ लिएर घर फर्किने क्रममा चुच्चेपाटीस्थित एनसीसी र एनएमबी बैंकको पछाडी रहेको पार्किङस्थल नजिकै आक्रमण भएको थियो । घर जाने क्रममा भोस्ले सवार स्कुटी रोकी अपरिचित व्यक्तिहरुले आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट गरी सुन तथा नगद राखिएको झोला लुटेर फरार भएका थिए ।
लुटेराहरु फरार भएको खबर पाउन साथ महानगरीय प्रहरी वृत्त, गौशालाले काठमाडौंस्थित सबै प्रहरी कार्यालयहरुलाई सतर्क गराई सबै नाका कडा पारेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीसमेत परिचालन गरी अनुसन्धान गर्दा तीन दिनपछि लुटेरा पक्राउ परेका हुन् ।
लुटेराको साथबाट सुन, नगद र घटनामा प्रयोग भएको सवारी साधनसमेत प्रहरीले बरामद गरी घटनामा संलग्न अन्यको खोजीकार्य गरिरहेको छ । जिल्ला अदालत बाठमाडौंबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको छ ।