logo
२०८१ बैशाख ८ शनिवार



सुन्दरबजारका भूमिहीन सुकुम्बासीको लगत सङ्कलन हुँदै

खुला |
प्रदेश |


सुन्दरबजारका भूमिहीन सुकुम्बासीको लगत सङ्कलन हुँदै


बेलिना थापा
लमजुङ, चैत १ गते । लमजुङको सुन्दरबजार नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत सङ्कलन गर्ने प्रक्रिया सुरु गरेको छ । नगरपालिकाभित्रका वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित नागरिकको वास्तविक तथ्याङ्क नआएकाले लगत सङ्कलन गर्न लागिएको नगरपालिकाका प्रमुख जनकराज मिश्रले बताउनुभो ।

उहाँकाअनुसार लगत सङ्कलनका लागि लगत संकलन सम्बन्धी सहजीकरण समिति गठन गरिएको छ । मिश्रको संयोजकमा समिति बनेको छ । समितिले काम थाल्ने तयारी गरेको उहाँले बताउनुभयो । समितिमा नगरपालिकाका उपप्रमुख ज्ञानु शाह, महिलाबाट कार्यपालिका सदस्य लक्ष्मी पोखरेल, दलित महिला तथा अल्पसङ्ख्यकबाट बुद्धकुमारी सुवर्णकार, पार्टी प्रतिनिधिहरु नेकपा (एमाले) का भीमबहादुर गुरुङ, नेपाली कांग्रेसका प्रकाश सेढाइँ, माओवादी केन्द्रका मुरारी भुजेल, नेकपा एर्कीकृत समाजवादीका जगदीश सेढाइँ, राप्रपाको तर्फबाट हरिप्रसाद रेग्मी रहनुभएको छ ।

सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल रहनुभएको छ । स्थानीय, समाजसेवी, बुद्धिजीवी गरी ३ जना पछि थप गर्ने नगरपालिकाले जनाएको छ । नयाँ समझदारीपत्र बनाएर लगत सङ्कलन गर्न लागिएको नगरपालिकाले जनाएको छ । पत्रमा चैत ६ गतेसम्म हस्ताक्षर गर्नुपर्ने भनिएको छ । त्यसपछि जनशक्ति व्यवस्थापन गरी थप कार्य अघि बढाउने नगरपालिकाले जनाएको छ ।

वडा वडामा पुगेर लगत सङ्कलन गरिने प्रमुख मिश्रले बताउनुभयो । नगरपालिकाले यसअघि पनि लगत सङ्कलनको कार्य सुरु गरेको थियो । अभिमुखीकरण गरी लगत सङ्कलन कार्य थालेको थियो । सरकार परिवर्तन भएपछि काम रोकिएको थियो ।

नगरपालिकाका योजना अधिकृत ऋषिराम पौडेलकाअनुसार भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत सङ्कलनसम्बन्धी छलफल भएको छ । सुन्दरबजार नगरपालिकाको सभाहलमा भएको छलफलमा राष्ट्रिय भूमि आयोग जिल्ला समिति लमजुङका अध्यक्ष दामोदर अधिकारीले जिल्लामा प्रभावकारी रुपमा लगत सङ्कलन गरिने बताउनुभयो ।

यसअघि प्रारभ्मिक तथ्यांक रहेको र पुनः वास्तविक तथ्याङ्क सङ्कलन गरिने उहाँले बताउनुभयो । अब अभिमुखीकरण, जनशक्ति व्यवस्थापन गरी काम अघि बढाउने जानकारी उहाँले गराउनुभयो । वर्षौंदेखि भूमिहीन अवस्थामा रहेका नागरिकको वास्तविक लगत ल्याउने गरी काम हुने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा नगरपालिका सामाजिक विकास शाखाका प्रमुख ठाकुरजी तिवारी, योजना अधिकृत ऋषिराम पौडेल, कार्यपालिका सदस्य, पार्टीका प्रतिनिधीको उपस्थिति थियो । समितिले विगतका आयोगहरूले थालेका भूमिसम्बन्धी अधुरा कामलाई पूर्णता दिनेगरी काम गर्ने बताएको छ । अघिल्लो समितिले सङ्कलन गरेका आवेदन र पूरा गरेका प्रक्रियालाई निरन्तरता दिएर जग्गाको लालपुर्जा वितरणको तयारी थालिएको समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?