logo
२०८१ बैशाख ७ शुक्रवार



दार्चुलाको सीमापुल बेलुकी ७ बजेसम्म खुल्ला रहने, तटबन्धबारे छलफल

खुला |
प्रदेश |


दार्चुलाको सीमापुल बेलुकी ७ बजेसम्म खुल्ला रहने, तटबन्धबारे छलफल


लोकेन्द्र जोशी
दार्चुला, चैत १ गते । दार्चुलामा रहेको नेपाल–भारत जोड्ने सीमापुल खुल्ने पुरानै समय कायम गरिएको छ । यसअघि सीमापुल खुल्ने समय घटाउँदा विभिन्न समस्या भएको भन्दै नेपाल र भारत दुबै देशतर्फका स्थानीय र व्यापारीले पुल खुल्ने पुरानै समय कायम गराउन माग गर्दैआएका थिए ।

नेपाल–भारत सीमापुल खुला रहने समय विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म कायम गर्न भारतीय पक्ष तयार भएकाले अबदेखि सीमापुल बेलुकी ७ बजेसम्म खुला रहने जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । दुई देशका प्रशासन प्रमुखबीच पुल खोल्ने र बन्द गर्ने समयका विषयमा भएको छलफलपछि मंगलबारदेखि विहान ७ बजे देखि बेलुकी ७ बजेसम्म झोलुंंगे पुल खुल्ला रहने उहाँले बताउनुभयो ।

भारतीय प्रशासनले नेपाली प्रशासनलाई पत्र पठाउँदै चैत्र १ गतेबाट विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म पुल खुल्ला रहने जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलाको भारतसँग जोडिएका सीमानाका खुल्ने पुरानै समय कायम नहुदाँ सीमाक्षेत्र वारपार गर्नेहरु समस्या झेल्दैआएका थिए । कोरोनाका कारण सीमानाका बन्द हुनुभन्दा पहिला भारतसँग जोडिएको दार्चुलाका सीमापुल प्रत्येक विहान ७ बजे खुल्ने र साँझ ७ बजे बन्द हुने गरेकोमा कोरोना महामारीपछि बेलुकी ५ बजे नै पुल बन्द गर्ने गरिएको थियो ।

दार्चुलामा नेपाल र भारत जोड्ने हाल छ वटा सीमापुल सञ्चालनमा छन् । व्यास गाउँपालिका –१ सीतापुल, वडा ५ को तिग्रम, महाकाली नगरपालिका–४ को खलंगा, वडा ९ को दत्तु, मालिकार्जुन गाउँपालिका –७ को जोलजिवि र लेकम गाउँपालिका –३ को लाली सीमापुल सञ्चालनमा रहेका छन् । तुइन विस्थापन कार्यक्रम अन्तर्गत थप दुई वटा पुल निर्माण भइसकेको र दुई वटा पुलको निर्माणकार्य जारी रहेको छ ।

निर्माणाधिन तटबन्धबारे छलफल
भारतले महाकाली नदीको वहाव नेपालतर्फ धकेलिने गरी तटबन्ध निर्माण गरिरहेको विषयमा दुई देशका अधिकारीबीच छलफल भएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारतको पिथौरागढ जिल्लाका डिएम आशिष चौहानबीच भारतको धारचुलामा भेटवार्ता भएको हो ।

पिथौरागढका डिएम चौहन धारचुला आएकाबेला दार्चुलाका प्रमुख जिल्ला अधिकारी उपाध्याय र सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले भेटेर सीमा नदी महाकालीको भारततर्फ खोतिला क्षेत्रमा निर्माण भइरहेको तटबन्धका विषयमा कुराकानी भएको बताइएकोछ । भारतले निर्माण गरिरहेको तटबन्धको विषयलाई लिएर स्थानीयस्तरमा तनाव उत्पन्न हुँदा समेत सरकारले प्रतिक्रिया जनाएको छैन् । भारतीय पक्षले सीमा क्षेत्रमा संरचना निर्माण गर्दा समन्वय गर्ने जनाए पनि आफुखुसी नेपालतर्फ जोखिम हुनेगरी तटबन्ध निर्माण कार्य एकलौटी ढंगले गर्दैैआएको स्थानीयको आरोप छ ।

तटबन्ध निर्माणको विषयमा केहि दिनदेखि उत्पन्न विवाद समाधान र आफ्नै क्षेत्रमा तटबन्ध निर्माण गर्ने कुरामा भारतीय पक्षले सकारात्मक जवाफ दिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दुई देशका प्राविधिकको टोली छलफलमा बसेर क्षती नहुने ढंगले तटबन्ध निर्माण गर्ने विषयमा मैखिक सहमति भएको र अनौपचारिक रुपमा छलफल गरिएको बताइएको छ । नेपाली पक्षले विरोध जनाए पनि भारतले नेपाली सीमा क्षेत्रमा तटबन्ध निर्माणकार्य रोकेको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?