logo
२०८१ बैशाख ७ शुक्रवार



बोतलमा अवैध रुपले पेट्रोल बेच्नेलाई कारबाही हुने

खुला |
प्रदेश |


बोतलमा अवैध रुपले पेट्रोल बेच्नेलाई कारबाही हुने


चन्द्र पन्दाक
ताप्लेजुङ, चैत १ गते । ताप्लेजुङमा बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्नेलाई कारबाही हुने भएको छ । पानीको बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्नु गैरकानुनी कार्य भएकाले यस्तो कार्य गर्नेलाई स्थानीय प्रशासनले कारबारी गर्ने चेतावनी दिएको हो ।

बिनाअनुमति तथा गैरकानुनी रुपमा बोतलमा भरेर जताभावी पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने व्यापारीलाई कारबाही हुने प्रशासनको भनाई छ । विश्व उपभोक्ता अधिकार दिवसका दिन मङ्गलबार जिल्ला प्रशासनसहित संयुक्त टोलीले सदरमुकाम फुङ्लिङ बजारको अनुगमन गरेको छ । बजार अनुगमनका क्रममा बोतलमा राखेर जताभावी पेट्रोलियम पदार्थ बिक्री गरेको भेटिएपछि यस्तो अवैध रुपमा पेट्रोल बिक्री वितरण गर्नेलाई कारबाही गर्ने बताएको छ ।

उपभोक्ता अधिकार दिवसका अवसरमा सचेतना फैलाउने कार्यक्रमसहित बजार अनुगमन भएकाले अवैध रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको पाइए पनि अनुगमन टोलीले अन्तिम मौकास्वरुप सम्बन्धित बिक्रेतालाई बुधबार बिहान १० बजेसम्म हटाउन निर्देशन दिएको छ । तोकिएको समयभित्र नहटाएमा वा बोतलमा राखेर पेट्रोलियम पदार्थ बिक्री गरेको पाइएमा तत्काल जफत गरी बिक्रेतालाई कानुनबमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराईले चेतावनी दिनुभयो ।

सदरमुकाम फुङ्लिङ बजारमा पहिलेदेखि नै तरकारी, किराना, फलफूलजस्ता पसलहरुमा व्यापारीले पानीको बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दैआएका छन् । यस्ता पसलहरुमा बिक्री गरिने कतिपय पेट्रोलियम पदार्थमा पानी वा अन्य तरल पदार्थ मिसाएर बिक्री हुने गरेको पाइन्छ । पेट्रोलियम पदार्थ अति प्रज्ज्वलनशील भएकाले आगलागीको जोखिम पनि रहेको स्थानीयले बताएका छन् । विगतदेखि नै गैरकानुनी रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरिएको भएपनि नियमक निकाय मौन रहँदैआएको उपभोक्ताहरुको आरोप छ ।

मङ्गलबार गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका र सडे–गलेका खाद्य पदार्थहरु पनि फेला परेको अनुगमन टोलीले जनाएको छ । सदरमुकाम फुङ्लिङ बजारका माछा मासु पसलमा कुहिएको तथा सडेको माछामासु फेला परेको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?