logo
२०८० चैत्र १६ शुक्रवार

  काेभिडपछिकाे विद्यालय सञ्चालन  



वैशाखमा भर्ना र जेठ १ गतेदेखि कक्षा शुरू हुने

शिक्षा |


वैशाखमा भर्ना र जेठ १ गतेदेखि कक्षा शुरू हुने


काठमाडौं, चैत्र २ गते । सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठबाट थाल्ने निर्णय गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार आगामी चैत मसान्तसम्म पठनपाठन हुने र वैशाखमै परीक्षा र नतिजा प्रकाशन गर्नुपर्नेछ ।

जेठ १ गतेदेखि कक्षा सञ्चालन गर्नका लागि नयाँ भर्ना वैशाखमै थाल्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रले आग्रह गरेको छ । कतिपय विद्यालयले चैतमै विद्यालयको अन्तिम परीक्षा सञ्चालन गर्ने गरी सूचना निकालेको गुनासो आएकाले चैत्र महिनाभर शिक्षण सिकाइ क्रियाकलाप गर्न आग्रह गरिएको छ ।

सो को अनुगमन जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइले गर्नुपर्ने जनाइएको छ । चैतमा परीक्षा सञ्चालन गर्दा बालबालिकाको पढाइ प्रभावित हुने भएकाले विद्यालय तहका परीक्षाका कार्यतालिकाहरु नराख्न र अन्य प्रतियोगितात्मक कार्यहरुको पनि वैशाखमा मात्र आयोजना गर्न आग्रह गरिएको हाे।

कोभिड–१९ ले परिस्थिति सहज बनेकाले यस पटकको नयाँ भर्ना अभियान भौतिक उपस्थितिमा गर्न दिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयाे । उहाँले भन्नुभयो ‘स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भर्ना अभियान थालिनेछ । कुनै विद्यालयले अनलाइन प्रक्रियाबाट भर्ना अभियान चलाउन खोजे छुट दिइने शर्माले बताउनुभयो ।

वि.सं २०७९ को शैक्षिक सत्र चैत्र मसान्तभित्र सक्नेगरी पठनपाठन हुने शर्माको भनाइ छ । यता, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि भर्ना अभियान सञ्चालन गर्ने बताउनुभएको छ ।

‘अब त कोरोनाको धेरै जोखिम छैन,’ उहाँले भन्नुभयो ‘त्यसैले वैशाखमा कोभिडअघि जसरी भर्ना कार्यक्रम सञ्चालन गरेका थियौँ, त्यही अनुसार देशभर भर्ना कार्यक्रम सञ्चालन हुन्छ।’ उहाँका अनुसार वैशाख १५ गतेदेखि प्रभावकारी ढङ्गले भर्ना कार्यक्रम सञ्चालन गरिनेछ ।

भौतिक उपस्थितिमा विद्यार्थी भर्ना गरिनेछ । ‘हामी सूचना पनि प्रकाशित गर्छौँ, सम्भव भएसम्म कार्यक्रम आयोजना पनि गरेर भर्ना गराइनेछ,’ उहाँले भन्नुभयो । कतिपय स्थानीय तहहरुले चैत महिनामै विद्यालय तहको परीक्षा कार्यक्रम राखेकाले त्यो क्षेत्रमा पाठ्यक्रम पूर्णरुपले सम्पन्न भएको छ भने सञ्चालन गर्न दिनुपर्ने पुरीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?