logo
२०८१ बैशाख १५ शनिवार



वन कार्यालयद्वारा हिमाली गिद्धको उद्धार

खुला |
प्रदेश |
समाज |


वन कार्यालयद्वारा हिमाली गिद्धको उद्धार


बेलिना थापा
लमजुङ, चैत २ गते । लमजुङको सुन्दरबजार नगरपालिका १० धुसेनीबाट हिमाली गिद्धको उद्धार गरिएको छ । धुसेनीको सौभाग्य सदन माध्यमिक विद्यालयको नजिकै घाइते अवस्थामा भेटिएको गिद्धको डिभिजन वन कार्यालय लमजुङले उद्धार गरेको हो ।

घाइते गिद्धका बारेमा जानकारी पाएपछि डिभिजनल वन अधिकृत पूर्णेश्वर सुवेदीलगायतको टोली पुगेको थियो । सुवेदीका अनुसार सोमबार दिउँसो ३ बजेतिर विद्यालयका एक शिक्षकले गिद्धको अवस्था बारेमा जानकारी गराउनुभएको थियो । जानकारी आउनेबित्तिकै कार्यालयका सुवेदी र सहायक वन अधिकृत सन्तोष खनाल सो स्थलमा पुगेको थियो ।

सुवेदीका अनुसार शिक्षकले विद्यालयमा ल्याएर राखेको गिद्धको पखेटामा घाउ छ । बसिरहेको अवस्थामा कसैले ढुङ्गाले हानेर घाइते भएको हुनसक्ने सुवेदीले बताउनुयो । गिद्धको वासस्थान जङ्गल भए पनि खानेकुरा कम भएपछि, ठूला रुखहरु मासिन थालेपछि बस्ती छेउ आएको हुनसक्ने उहाँले बताउनुभयो ।

सो हिमाली गिद्ध भाले वा पोथी भन्ने पत्ता नलागे पनि वयस्क अवस्थाको रहेको वन कार्यालयले जनाएको छ । उक्त गिद्ध सङ्कटापन्न प्रजातिको भएको बताइएको छ । मध्य र हिमाली भेगमा पाइने उक्त गिद्ध ७ हजार ५०० मिटरसम्म माथि आकाशमा उड्ने, हिमाललाई समेत पार गर्ने डिभिजन वन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नेपालका ७ ठाउँमा गिद्ध राखिने गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन केन्द्र रहेको गिद्धको अन्य ठाउँमा संरक्षणका लागि राखिने गरिएको छ । उद्धार गरिएको गिद्धलाई सोमबार राति साढे ८ बजेतिर वन्यजन्तु उद्धार केन्द्र कास्कीलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय लमजुङका डिभिजन वन अधिकृत सुवेदीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?