logo
२०८१ बैशाख १५ शनिवार



डिजे र लाउडस्पिकरका कारण ध्वनि प्रदूषणको समस्या बढ्दो

खुला |
प्रदेश |


डिजे र लाउडस्पिकरका कारण ध्वनि प्रदूषणको समस्या बढ्दो


स्मृति मिश्र
महेन्द्रनगर (धनुषा), चैत २ गते । धार्मिक तथा सांस्कृतिक उत्सवलाई उत्साह, उमङ्ग र स्नेहले मनाउने परम्पराविपरीत भड्किला र दिक्कलाग्दो शैलीको सुरुवातसँगै ध्वनि प्रदूषणका मारमा जनकपुरक्षेत्रका बासिन्दा र चराचुरूङ्गी पर्नेगरेका छन् । विभिन्न अवसर पारेर चर्का स्वरमा बजाइने गीतसङ्गीतका कारण स्थानीयको दिनचर्या प्रभावित भएको छ । यसैकारण स्थानीयमा स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न थालेको स्थानीयको भनाइ छ । साइबेरिया, भारतलगायतका देशबाट आउने चराचुरुङ्गी पनि त्यही ध्वनि प्रदूषणका कारण देखिन छाडेको विज्ञको भनाइ छ ।

कानको जाली नै फुट्ने र मनमस्तिष्क हुँडल्ने गरी बजाइने डिजेलगायतका बाजागाजा नियन्त्रणमा नियमनकारी निकायको हस्तक्षेप प्रभावकारी हुनसकेको छैन । मधेसमा अहिले विभिन्न धार्मिक तथा सांस्कृतिक उत्सवको मौसम छ, लगनका बेला पनि छ, यस्तो बेला झन् बढी ध्वनि प्रदूषण बढ्ने स्थानीयको बुझाइ छ ।

एकअर्कालाई उछिन्ने किसिमले चर्का स्वरमा बजाइने यी गीतसङ्गीतको माधुर्यभन्दा कर्कशले स्थानीयवासीलाई दिक्दार बनाएको स्थानीय सञ्चारकर्मी माला रायले बताउनुभयो । ‘बाजागाजाको आवाजले एकाग्र भएर गर्न सकिने काममा बाधा हुनेगरेको उहाँको भनाइ छ । विद्यार्थीको लेखपढमा पनि असर पुगेको र स्थानीयलाई राती सुत्न पनि समस्या भइरहेको उहाँले बताउनुभयो ।

आवासीय क्षेत्र, स्वास्थ्य तथा शैक्षिक संस्था वरपर ठूल्ठूलो स्वरमा गीतसङ्गीत घन्काउने गर्दा वातावरण नै ध्वनि प्रदूषित हुनेगरेको स्थानीयको गुनासो छ । चारै प्रहर बजाइने गीतसङ्गीतका कारण बच्चा र वृद्धहरूमा मात्र होइन, वयस्कमा मानसिक समस्या उत्पन्न गराएको चिकित्सक डा.अजयकुमार झाले बताउनुभयो ।
चिकित्सक झाका अनुसार सीमाभन्दा बढी चर्को आवाजका कारण व्यक्तिमा पछिल्ला समस्या देखिएका छन् । विश्व स्वास्थ्य सङ्गठनले ध्वनिको उच्चता दिनमा ४५ डेसिबल र रातमा ३५ डेसिबल निश्चित गरेको बताएको छ । तर मधेसका सहरी र ग्रामीण क्षेत्र दुवैमा रातिको समयमा समेत ८० डेसिबलसम्मको चर्को आवाजका बाजा बज्नेगरेको स्थानीयको भनाइ छ ।

पर्व–तिहार मनाउनु र बिहेबारीमा नाचगान गर्नु स्वाभाविक भए पनि रातभरि तीव्र आवाजमा बाजा बजाउनुले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने अर्का चिकित्सक डा.विजयकुमार सिंहले बताउनुभयो । सहरीक्षेत्रमा सवारीसाधनले जथाभावी बजाउने हर्नबाट आजित स्थानीय बिहावारीलगायतका उत्सवमा बजाइने बाजागाजाले झनै समस्या थप्ने गरेको चिकित्सकको बुझाइ छ ।

बिहावारीका बेला बेहुला र बेहुली दुवै पक्ष देवदेवी दर्शनका लागि नगर प्रदक्षिणा गर्दा ठूल्ठूला आवाजमा गीतसङ्गीत घन्काउँदै गर्ने नाचगानले वरपरका मानिस नियमित प्रताडित हुनेगरेको मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले बताउनुभयो । ‘सभ्य र सुसंस्कृत ढङ्गले सांस्कृतिक विधि पूरा गर्नुपर्ने ठाउँमा अरूलाई दुःख दिनेगरी उत्सव मनाउनु  दुर्भाग्यपूर्ण हो’ उहाँले भन्नुभयो ।

डिजे र लाउडस्पिकरको प्रयोगबाट हुने ध्वनि प्रदूषणका कारण हृदयाघात, गर्भपातजस्ता स्वास्थ्यसम्बन्धी समस्या उत्पन्न हुने विज्ञहरू बताउनुहुन्छ । ध्वनि प्रदूषणले गर्दा थकान, तनाव, निद्राको अभाव र आराम नहुँदा अन्य प्रकारका रोग देखिने उहाँहरूको भनाइ छ ।

ध्वनि प्रदूषणकै कारण जनकपुरधामका विभिन्न ठाउँमा पहिले देखिनेगरेका भँगेरालगायतका चरा लोप भइसकेको स्थानीयको बुझाइ छ । त्यसैगरी पोखरी, तलाउ र सरोवरका सहर जनकपुरधाममा साइबेरिया, भारतको राजस्थानलगायतका ठाउँबाट आउने चराचुरुंङ्गी अचेल आउन छाडेको मिथिला वाइल्ड लाइफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डलले बताउनुभयो ।

ध्वनि प्रदूषण नियन्त्रणका लागि सर्वदलीय बैठक गरेरै सानो स्वरमा बाजागाजा बजाउने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवम् प्रहरी उपरीक्षक वसन्त रजौरेले डिजे र लाउडस्पिकरको प्रयोग नियन्त्रण गर्न प्रहरी टोली परिचालन गरिँदैआएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?