हरिप्रसाद कोइराला
उर्लाबारी, चैत ३ गते । हिमाल र पहाडमा गाडी पुगेपछि याक, खच्चर, घोडा र भरियाबाट सामान बोक्नेहरूको ब्यवसाय चौपट भयो । बिकासले बेरोजगारी पनि निम्त्याउँछ । तर, मोरङको रतुवामाई –५को कसेनी र सुनवर्षी –३ को बामनडुभलाई जोड्न बक्राहा खोलामा झोलुङ्गे पुल लगाइए पनि वर्षौं देखि खोलामा भाटे पुल लगाएर ब्याबसाय गरिरहेका युनुस मोहम्मदको ब्यापार घटेको छैन।
रतुवामाइ–६ का युुनुसले पहिलोपटक २५ वर्ष अघि बक्राहा खोलामा भाटे पुल बनाउनु भएको थियो । तत्कालिन जिल्ला विकास समितिले भाटे पुल निर्माणका लागि ठेक्का आब्हान ग¥थ्यो । अरुसँग खोलामा २ सय मिटर लामो पुल बनाउने सीप थिएन । त्यसैले हरेक वर्ष उहाँले नै पुल लगाउने ठेक्का पाउनु हुन्थ्यो । बक्राहामा मात्र होइन ,उहाँले डाँस , मावा र रतुवाखोलामा पनि बाँसको भाटे पुल लगाउनु हुन्थ्यो । वर्षायाम सुरु भएपछि खोलामा नाउ लगाउने र भदौ अन्तिम देखि भाटे पुल लगाउने उहाँको ब्यावसाय नै थियो । २ वर्ष अघि बक्राहामा साडे ३ सय मिटर लामो झोलुङ्गे पुल बन्यो । झोलुङ्गे बनेपछि युनुसको परिवार बैकल्पिक पेशाको खोजिमा थियो । ११ जनाको वृहत परिवार भाटे पुलले नै पाल्नु हुन्थ्यो उहाँ । १ वर्ष उहाँले खेतीपानी अधिँया गरेर जिवकिोपार्जन गर्नुभयो ।
झोलुङ्गे बनेपछि पनि स्थानीयले भाटे पुल बनाउन आग्रह गरे । युनुस भन्नुहुन्छ – झोलुङ्गेको चौडाई सानो छ । पुल लामो भएकोले एक तिरबाट आएको मोटरसाइकल ,साइकलको यात्रीलाई अर्को तिरबाट आएको यात्रीले देख्दैन । साइकल र मान्छे सजिलै वारपार हुन्छन् । मोटरसाइकलले धेरै दुख पाउँछन् । अझ सिटी सफारी र टेम्पोले त झोलुङ्गे पुलबाट वारीपारी गर्नै सक्दैनन् ।
२ वर्ष अघि सम्म गाउँघरमा सिटीसफारी र टेम्पो थिएनन् । अहिले गाउँ गाउँमा कालोपत्रे सडक बिस्तार भएपछि टेम्पो र सिटीसफारी पनि गाउँ गाउँमा उपलब्ध छन् । युनुसले भन्नुभयो – पहिले भन्दा अहिले पुल बढी चल्छ । पहिले जिल्ला विकासलाई कर तिर्नु प¥थ्यो । अहिले कर तिर्नु पर्दैन् । युनुसले टेम्पो र सिटीसफारीलाई ५० रुपियाँ,मोटरसाइकललाई ३० रुपियाँ, मान्छे र साइकललाई १० रुपियाँ तिरेपछि भाटेपुलबाट खोला तर्न दिनुहुन्छ । माथि झोलुङपुल भएपनि उहाँको पुलमा मानिसहरू खुसीसाथ पैसा तिरेर आउँजाउ गरिरहेका छन् । सुनवर्षीबाट मोटरसाइकलमा रतुवामाई जाँदै गर्नु भएका सन्तोष दासले भन्नुभयो–झोलुङपुलबाट मोटरसाइकलमा खोला तर्न धेरै गाह्रो छ । बीचमा मोटरसाइकल क्रस हुँदैन । ३० रुपियाँ तिर्दा समयको पनि बचत,जोखिम पनि कम ।उहाँले थन्नुभयो –झोलुङ्गेपुलमा त टिकटक बनाउने र सेल्फी खिच्नेको भीड नै थामिसक्नु हुँदैन ।
पुल बनाउन युनुसको यो वर्ष दोहोरो खर्च भयो ।असोज १५ मा ७५ हजार रुपियाँ लगाएर बनाएको पुल कात्तिक ३ गतेको बाढीले बगाइदियो । त्यसपछि उहाँले पुल बनाउन फेरि ७५ हजार रुपियाँ खर्च गर्नुभयो । दैनिक १० वटा भन्दा बढी टेम्पो र सिटीसफारी, २०/२५ वटा मोटरसाइकल र ५०/६० जना मानिस पुलबाट आउजाउ गर्छन् । ११ जनाको परिवार धान्ने पुलमा यो पटक डब्बल लगानी भयो । तर ,पनि घाटा हुँदैन । घाटा भयो भने त घ कसरी चलाउने ?उहाँले भन्नुभयो । दैनिक सरदर २ हजार रुपियाँ आम्दानी हुन्छ । वारीपारी हाट बजार परेको दिन ५ हजार सम्म कमाइ हुने उहाँले बताउनुभयो ।