शिवराज ढुंगाना
अछाम, चैत ३ गते । सेतो कुर्ता, जामा, पगरी र टोपी लाएर गोलो घेराको समूहमा ‘डेउणा’ गाउँदै हरेक बेलुकीपख खेलिने ‘होरी’ ले गाउँघर उत्सवमय छ । महाभारत र रामायणलगायत पुराणमा रहेका श्रीकृष्ण, राधा, गोपिनी, राम र सीता भगवानका चरित्र गाथा लय मिलाएर गाउँको खुला ठाउँमा खेलिन्छ ।
होरीका देउडाको आवाजमा ढोल, झ्याली र नरसिङ्गाको आवाजले गाउँघरलाई संगीतमय बनाउँछ । डेउडासँगै जामा, सेता कपडा, मालाले होरीलाई थप रंगिलो र रमाइलो बनाउने गरेको अछामको होरीका अगुवा कर्णबहादुर केसीको भनाइ छ । होरीका गीतको लयमा पैदल, हात र शरिरका विभिन्न अंगको संकेतले समेत थप मनोरञ्जन दिइरहेको हुन्छ । ‘खलिफा’ (शुरुमा होरीका गीत भन्ने) ले होरीका गीत उठाएसँगै लय मिलाएर सबैले मधुरो स्वरमा गीत गाउँछन् । फागुन शुक्लअष्टमीका दिनबाट पटकानीमा चीर गाडेर हरेक बेलुकी होरी खेलेर फागुन पूर्णिमाका दिन चीरदाह गरेर होरी सकाउने प्रचलन अछाममा छ ।
विदेश वा घर बाहिर रहेकाहरु होरी मनाउनका गाउँघर फर्केका छन् । दिउँसो आफ्नो काम गरेर बेलुखीपख सबै उमेर समूहका व्यक्ति होरी हेरेर राती घर फर्कने गर्छन् । द्वापर युगमा श्रीकृष्णलाई मार्नका लागि मामा कंशले आफ्नी बहिनी होलीकालाई पठाएको र कृष्णलाई मार्ने प्रपञ्चमा होलिकाको नै अन्त्य भएको खुसियालीमा होरी खेल्ने चलन सुरु गरिएको शास्त्रीय भनाई छ । सामाजिक सद्भावसँगै चेतनामस्लक, धार्मिक र रीतिरिवाजको जगेर्नाको प्रतीक होरी रहेको अछामी होरीका जानकार उदयराज ढुंगानाको भनाइ छ ।
अछाममा होरीको प्रारम्भका बारेमा लिखित इतिहास नभए पनि अछामका राजाभान शाहको ससुराली कुमाउ, गढवाल भएका कारण उतैबाट वि.सं १७५० तिर होरी खेल्ने अछाममा भित्रिएको अछामका केही जानकारहरुको भनाइ रहेको छ । बसाइसराइसँगै कैलालीको धनगढी र टीकापुर, नेपालगञ्ज र काठमाण्डौंमा समेत अछामवासीहरु त्यता पनि होरी खेलिने गरेको छ ।