logo
२०८१ बैशाख ८ शनिवार



बन्दीपुरको टुँडीखेलबाट खसेर बालकको मृत्यु

खुला |
प्रदेश |


बन्दीपुरको टुँडीखेलबाट खसेर बालकको मृत्यु


अमरराज नहर्की
तनहुँ, चैत ३ गते । तनहुँको बन्दीपुर गाउँपालिका–४ बन्दीपुरको टुँडिखेलबाट खसेर एकजना बालकको मृत्यु भएको छ । बन्दीपुर– २ हल्थुमका बस्ने टेकबहादुर गुरुङको १७ वर्षीय छोरा कृजन गुरुङको बुधबार साँझ टुँडीखेलको उत्तरी क्षेत्रमा रहेको छङ्गाछुर भीरबाट खस्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी निरीक्षक विकास अधिकारीले जानकारी दिनुभयो ।

साँझ फुटबल खेलेर फर्किनेक्रममा पिसाब फेर्न जाने क्रममा टुँडिखेलमा लगाइएको पर्खाल भत्किएर गुरुङ भिरबाट ३०० मिटर तल खसेको अधिकारीले जानकारी दिनुभयो ।

उद्धार गरी उपचारको क्रममा बन्दीपुर अस्पतालमा लगिएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बालक गुरुङ बन्दीपुरस्थित भानु माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्थ्यो । भीरबाट माटो खसेर पर्खाल कमजोर भएकाले भत्किन पुग्दा बालक भीरमा खस्न पुगेको पाइएको घटनास्थल पुग्नुभएका प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । छङ्गाछुर भीर भएकाले उद्धार गर्न दुई घण्टा लागेको उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?