logo
२०८१ बैशाख १४ शुक्रवार



चाल्नेले चलेको स्यूराम सार्कीको जिन्दगी

खुला |
प्रदेश |


चाल्नेले चलेको स्यूराम सार्कीको जिन्दगी


गोकर्ण पौडेल
तुलसीपुर, चैत ३ गते । पैसठ्ठी वर्षिय स्युराम सार्कीको जीवन चाल्नो बनाउने पेसाले चलेको छ । तुलसीपुर उपमहानगरपालिका १९ छिल्लीकोट सुन्दर खोलाका स्युराम सार्कीले ४५ वर्षदेखि चाल्नो बनाउँदै आउनुभएको छ ।

कुनै समय वर्षमा सय वटाभन्दा बढी चाल्नो बनाउने स्युरामको उमेर बढेसँगै चाल्नो बनाउने काम पनि विस्तारै घट्दैगएको छ । उहाँले एउटा चाल्नो आठ सयदेखि पन्ध्रसय मूल्यमा बिक्री गर्दै आउनुभएको छ ।

स्युरामले भन्नुभयो– “उमेर नै यही चाल्नो बनाएरै बित्यो, चाल्नो बनाउने आवश्यक कच्चा पदार्थ पाए अझै पनि वर्षमा सयभन्दा बढी बनाउँथे तर कच्चा पदार्थ पाइँदैन । चाल्नो बनाउनका लागि गाईको छाला आवश्यक पर्छ ।” पहिले मरेका गाईवस्तु खाली ठाउँमा फाल्ने गर्दथे जहाँ पनि छाला पाइन्थ्यो, अहिले गाड्छन् छाला पाइँदैन अनि चाल्नो बनाउन समस्या परेको छ सार्कीले भन्नुभयो ।


चाल्नो बनाउन काठ, गाईको छाला, प्वाल पार्ने छिनो आवश्यक पर्छ । स्युुराम सार्कीले एउटा चाल्नो मुसाबाट बचाउन सके पचास वर्षसम्म टिक्न सक्ने बताउनुभयो । आँटा, पिठो, तोरी चाल्नका लागि छुट्टाछुट्टै चाल्ने बनाउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले पहिले चाल्नो बनाएरै वर्षको तीस चालीस हजार रुपियाँ कमाइन्थ्यो, खेतबारी खासै छैन, जहान परिवारको लागि पालनपोषण गरिन्थ्यो ।”

सरकारले ज्येष्ठनागरिक भत्ता दिन थालेपछि भने उहाँले व्यावसायिकभन्दा सीपको उपयोग गर्नका लागि चाल्नो बनाइरहनुभएको बताउनुभयो । स्यूरामका अनुसार अब बुढेसकाल लाग्यो त्यति सामान पाइन पनि छाड्यो वर्षको बीस पच्चीस वटामात्रै बनाउन सकिन्छ । बनाएको सामान ग्राहकहरु घरमै लिन आउनेगरेको उहाँको भनाइ छ ।

उहाँले बनाएको चाल्नो प्रयोग गर्दैआएका तुलसीपुर १९ श्रीचौरका पलबहादुर वलीले २५ वर्षअघि बनाएको चाल्ने अझै घरमा प्रयोग गर्दैआएको बताउनुभयो । त्यस टोलमा उहाँसँग मात्रै चाल्ने बनाउने सीप छ । वलीले भन्नुभयो, “चाल्नो बनाउने सीप उहाँसँग मात्रै छ, गाउँ टोलमा उहाँले बनाएका चाल्नो सबैले मनपराउँछन् ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?