logo
२०८० चैत्र १६ शुक्रवार



माओवादी केन्द्रको वडा कमिटी एमालेमा समाहित

खुला |
प्रदेश |


माओवादी केन्द्रको वडा कमिटी एमालेमा समाहित


नवीन शिशिर विक
बागलुङ, चैत्र ४ गते । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा बागलुङमा चुनावलक्षित राजनीतिक गतिविधि बाक्लो हुँदैगएको छ । जिल्लामा क्रियाशील राजनीतिक दलले कतै भिन्न त कतै संयुक्त रुपमा चुनाव केन्द्रित गतिविधिलाई तिव्र बनाएका छन् ।

विशेषगरी सत्तारुढ राजनीतिक गठबन्धमा सहभागी राजनीतिक दलले आफ्नो पालिका तहमा अवस्था हेरेर संयुक्त राजनीतिक गतिविधिलाई प्राथमिकता दिएका छन् । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले एकल रुपमा आफ्नो राजनीतिक गतिविधि, सङ्गठन विस्तार, भेला, प्रशिक्षण तथा पार्टी प्रवेशको कार्यलाई तीव्रता दिएको एमाले जिल्ला प्रचार विभाग प्रमुख गणेश पौडेलले जानकारी दिनुभयो ।

नेपाली काँग्रेस जिल्लाव्यापी अभियानमा एक्लै अघि बढेको छ । यद्यपि स्थानीय तहका पार्टी कमिटीले त्यहाँको अवस्था र आवश्यकता हेरेर सत्तागठबन्धकै आधारमा कार्यक्रम तयार गरेका छन् । निर्वाचनको मिति नजिकिदै गर्दा एमालेले पार्टी प्रवेश कार्यलाई तीव्र बनाएको छ ।

पार्टी प्रवेशमा पहिलो रोजाइ नेकपा (माओवादी केन्द्र) का वडा कमिटी परेका छन् । नेकपा कार्यकाल हुँदै एउटै सङ्गठनमा काम गरेको हुँदा वडा तहमा वार्ता पार्टी एकीकरण गर्न सहज बनेको प्रचार विभाग प्रमुख पौडेलले बताउनुभयो ।

पार्टी सङ्गठन विस्तार अन्तर्गत बागलुङको काठेखोला गाउँपालिका–धम्जामा केन्द्रको वार्ड कमिटी (एमाले) मा समाहित भएको छ । धम्जामा आयोजित एक कार्यक्रमबीच नेकपा (माओवादी केन्द्र) काठेखोला गाउँपालिका –३ गाउँ कमिटी अध्यक्ष देवेन्द्र खत्रीले एमालेका काठेखोला गाउँपालिका– ३ धम्जाका इन्चार्ज खुम भण्डारीलाई वार्ड कमिटीको माइन्युट हस्तान्तरण गरी पूरै कमिटी एमालेमा समाहित भएको घोषणा गर्नुभयो ।

माओवादी केन्द्र जनताको भावना विपरीत अगाडि बढ्दै गएपछि पार्टी समाहित गर्नुपरेको देवेन्द्र खत्रीले बताउनुभयो । धम्जा एमाले जिल्ला कमिटी अध्यक्ष हीराबहादुर केसीको जन्मस्थल हो । माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य नवीन कँडेलसहित काठेखोला गाउँपालिका –५ र ६ नम्बर वडा कमिटीमा रहेको माओवादी नेता कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् । छिन्नभिन्न अवस्थामा रहेका वामपन्थी शक्तिको एकताका लागि एमालेमा प्रवेश गरेको नवीन कँडेलले बताउनुभयो ।

तत्कालीन माओवादी नेता तथा हाल एमालेका पोलिटब्युरो सदस्य लीलाबहादुर थापा, केन्द्रीय सदस्य कृष्णबहादुर केसी एमालेमा सक्रिय भएपछि अन्य पार्टीका कार्यकर्ताभन्दा माओवादी नेता कार्यकर्तालाई एमाले प्रवेशमा सहजता देखिएको उहाँहरुको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?