logo
२०८१ बैशाख १५ शनिवार



प्रचार प्रसारको अभावमा ओझेलमा झाक्री झेल राजापँधेरो झरना

खुला |
प्रदेश |


प्रचार प्रसारको अभावमा ओझेलमा झाक्री झेल राजापँधेरो झरना


गोकर्ण पौडेल
तुलसीपुर, चैत ४ गते । तुलसीपुर उपमहानगरपालिका १९ सुन्दर खोलामा रहेको झाक्रीझेल राजापँधेरा झरना प्रसार प्रचारको अभावमा ओझेलमा परेको छ । करिब ३० मिटर उचाइ माथिबाट बग्ने झरनामा तीन वटा खोलाको पानी बग्दै आएको छ । बिजौरी हुँदै रोल्पाको होलेरी दहवन सडकको सुन्दरखोलादेखि एक किलोमिटर उत्तर पूर्वमा रहेको उक्त झरनाको प्रसार प्रचारसमेत हुन सकेको छैन ।

स्थानीय परवीर पुनले झरनाको प्रसार प्रसार नभएकै कारण राज्यको नजर पुग्न नसकेको बताउनुभयो । झरनासम्म अवलोकन गर्न जानका लागि राज्यले सिंढीसहित भौतिक संरचना बनाउनुपर्ने बताउनुभयो ।

स्थानीय पलबहादुर वलीले तीनुखोला, खानी खोला र राजापँधेरा भएर बग्ने पानीको मुहानबाट उक्त झरनामा आउने बताउनुभयो । प्राकृतिक सुन्दरताले मनमोहन क्षेत्र रोल्पा, सल्यान र दाङको संगमस्थलमै रहेको उक्त झरनाको प्रसार प्रचारगरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पैदल हिंड्ने भौतिक संरचना बनाउन उहाँले सुझाव दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका १९ का अध्यक्ष रामबहादुर योगीले दाङ रोल्पा सडकखण्डदेखि उत्तर पूर्वबाट छिल्लीकोटसम्मको सडक ट्रयाक अन्तिम चरणमा पुगेकाले सो सडक ट्रयाकसँगै त्यहाँ पर्यटकहरु जान सक्ने र थप प्रचार प्रचार हुने बताउनुभयो । साथै त्यस झरनासम्म पुग्नका लागि छिट्टै पैदलमार्ग बनाइने योगीले बताउनुभयो ।

७० वर्षीय धनबहादुर पुनले झरनाको बारेमा पहिल्यै जानकारी भए पनि स्थानीयवासीले नै राज्य पक्षलाई समयमै जानकारी नगराउँदा ओझेलमा परेको बताउनुभयो । स्थानीय टीकाराम घर्तीले झरनाको प्रसारप्रचार गर्न सकेमा त्यस क्षेत्रमा उत्पादन हुँदैआएको अदुवा, बेसार, अलैंचीले बजार पाउने बताउनुभयो । त्यस क्षेत्रमा कहिल्यै पानी नसुक्ने भएकाले पिकनिकस्थल समेत बनाउन सकिने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?