logo
२०८१ बैशाख २७ बिहीवार



महिनामा ८० लाखभन्दा बढी रुपियाँको अवैध मालसामान बरामद

खुला |
प्रदेश |


महिनामा ८० लाखभन्दा बढी रुपियाँको अवैध मालसामान बरामद


विजयकुमार साह
ढल्केवर, चैत ५ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले एक महिनाको अवधिमा ८० लाखभन्दा बढी मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । भारतबाट भन्सार छलेर हुनेगरेको चोरी पैठारी नियन्त्रण गर्न धनुषा प्रहरीले सक्रियता बढाएपछि फागुन महिनामा मात्रै ८३ लाख २७ हजार ५२५ रुपियाँ बरावरको अवैध मालसामान बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जितेन्द्रकुमार बस्नेतले प्रहरीको नियमित गस्ती तथा गोप्य सूचनाको आधारमा भन्सार छलीको सामान बरामद भएको बताउनुभयो । जिल्लाको विभिन्न स्थानबाट भन्सार छलीका लत्ताकपडा, किराना सामग्री र जुत्ता चप्पललगायत विभिन्न मालसामनसँगै १४ थान मोटरसाइकलसमेत बरामद गरिएको बस्नेतले जानकारी दिनुभयो ।

बरामद सबै मालसामान तथा सवारी जनकपुरस्थित भन्सार कार्यालयमा बुझाएको प्रवक्ता बस्नेतले बताउनुभयो । जिल्लाको जटहीमा मुख्य भन्सार कार्यालय रहेको छ भने इनर्वा, खजुरी, ढाडीलगायत आधा दर्जन स्थानमा शसस्त्र प्रहरी तैनाथ रहन्छ । सीमा क्षेत्रमा खटिएका शसस्त्र प्रहरी तथा भन्सार कर्मचारीलाई छलेर तथा रातिको समयमा सीमावर्ती क्षेत्रका चोर बाटो प्रयोग गरेर तस्करहरुले मालसामान नेपाल भित्र्याउने गरेका छन् ।

यद्यपि, भारतसँगको सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थितिले तस्करीमा केही कम भएपनि तस्करी भने रोकिएको छैन । सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न जनपद प्रहरीले सक्रियता बढाएपछि यतिबेला दैनिकजसो तस्करीका सामान बरामद भइरहेको छ । धनुषा प्रहरीले ३० दिनको फागुन महिनामा २१ दिन अवैध तस्करीका मालसामान बरामद गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?