logo
२०८१ बैशाख ८ शनिवार



दुईसय वर्ष पुरानो इतिहास बोकेको समय् फल्चा पुनःनिर्माण सम्पन्न

खुला |
समाज |


दुईसय वर्ष पुरानो इतिहास बोकेको समय् फल्चा पुनःनिर्माण सम्पन्न



सुभानु आचार्य
ललितपुर, चैत ५ गते । पुल्चोकस्थित हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथ निर्माण गर्ने केही पर रहेको दुईसय वर्ष पुरानो इतिहास बोकेको समय् फल्चाको पुनःनिर्माण सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुल्चोक टोल सुधार समितिद्वारा आज यहाँ आयोजित एक कार्यक्रमका बीच सो फल्चाको शिलालेखको अनावरण गर्नुभयो ।

सो अवसरमा प्रमुख महर्जनले आफूले हालसम्म ७५ पाटी निर्माण सम्पन्न गर्न सफल भइसकेको जानकारी दिनुभयो । उहाँले समय् फल्चा पुनःनिर्माण गर्दा महाभारत नै खेप्नुपरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले गत २०५७ सालमा समय् फल्चा पुनःनिर्माण समिति गठन गरी यसलाई अघि बढाउन लाग्दा विभिन्न अवरोध एवं आरोह खेप्नुप¥यो । २०६५ सालमा याे फल्चा महत्वपूर्ण छ भनेर सर्वोच्च अदालतले निर्णय गरिदिएपछि निर्माण प्रारम्भ गर्न खोज्दा अर्का सातवटा मुद्दा खेप्नुप¥यो ।”

आफूले सो फल्चाको पुरानो फोटो लगेर नेपाली काँग्रेसका शीर्षनेतालाई देखाएपछि मुद्दा फुकुवा भयो र हाल पाटी निर्माण सम्पन्न गर्न सफल हुँदा सोले मुलुकमा न्याय मरेको छैन भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएको उहाँको भनाइ छ ।

सो पार्टी पुनःनिर्माण थाल्दा पुल्चोकको मूल सडक नै अतिक्रमण हुन्छ भन्ने आरोप सहनु परेको बताउँदै प्रमुख महर्जनले आफूले फल्चा नजिकैको पेटीसमेत नछोएको दाबी गर्नुभयो । अबको दिनमा सो फल्चा वा पाटीबाट हुने सबै काम भने सो समितिबाट गर्ने निर्णय गरिएको महर्जनले जानकारी दिनुभयो ।

महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले सो पाटी निर्माण सम्पन्न गर्न सक्नु आफूहरुका लागि एक युद्ध जितेसरहको आभास भइरहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “हामी नेवार सोझा भएर २०३८ सालमै दर्ता गर्नुपर्ने फल्चाको काम अघि बढाएनौँ र पछि विभिन्न अवरोध खेप्नुप¥यो तर पनि सत्यकै अहिले जीत भएको छ ।”

समितिका अध्यक्ष सुरेन्द्रकुमार शाक्यले सम्पदाप्रेमीका सहयोग र संरक्षणमा सो फल्चा पुनःनिर्माण सम्पन्न गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । फल्चा पुनःनिर्माण उपभोक्ता समितिका संयोजक रवीन महर्जनले प्राचीनकालदेखि रहेको सो फल्चा पहिलोपटक २०२९ सालमा भत्केको जानकारी गराउनुभयो । सो फल्चा एक आनाभन्दा बढी जग्गामा महानगरपालिकाले दिएको रु. २९ लाखमा केही थप गरी निर्माण सम्पन्न गरिएको बताइएको छ ।

महानगरपालिका–३ निवासी चिरीमाया महर्जनले उक्त पार्टीमा बसेर नेवार समुदायका मानिसले समय्बजी खाने भएकाले सोलाई समय् फल्चा वा समय दिने पाटी भनिएको जानकारी गराउनुभयो ।

पाँच दशकअघि मासिएको, रातो मच्छिन्द्रनाथको जात्रासँग जोडिएको फल्चा फेरि बनेपछि स्थानीयवासी खुसी भएका छन् ।

दुई दशकको लडाइँपछि फल्चा

महानगरपालिकाकाअनुसार अशोक स्तुपसँगैको कित्ता नं। ३२७ मा पुनःनिर्माण गर्न खोजिएको समय् फल्चा २०६ वर्ष पुरानो ऐतिहासिक सम्पदा हो । त्यहाँ रहेको शिलालेखबाट पनि यसको पुष्टि हुन्छ ।

‘समय् फल्चा पाटी पुनःनिर्माण समिति’ले २०५७ सालमा पुनःनिर्माणको काम सुरु गर्न खोजेको थियो । पुरातत्व विभागको सिफारिस र जिल्ला प्रशासन कार्यालयको सहमतिका आधारमा ललितपुर उपमहानगरपालिकाले पाटी पुनःनिर्माण गर्न दिने निर्णय गरेको थियो । तर पाटीसँगै जग्गा भएका जग्गाधनी अनिलराज भण्डारीले तत्कालीन पुनरावेदन अदालत, पाटनमा यो निर्णयविरुद्ध मुद्दा दायर गरे । १० भदौ २०६० मा अदालतले भण्डारीको रिट खारेज ग¥यो ।

भण्डारीले सर्वोच्च अदालत पनि गए । फल्चा निर्माण गर्नु सार्वजनिक सडक ऐन–२०१९, स्थानीय स्वायत्त शासन ऐन, मुलुकी ऐन र काठमाडौं उपत्यका नगर विकास समितिको मापदण्ड २०५० विपरीत भएको उहाँको जिकिर थियो । तर सर्वोच्च अदालतले १९ साउन २०६५ मा उहाँको त्यो दाबी स्वीकार गरेन र साबिकको पाटी पुनःनिर्माण गर्दा आपत्ति गर्ने हक निवेदकलाई नभएको निर्णय गरियो ।

फैसला नआउँदै यो जग्गा लालीलगुराँस सहकारीले खरिद ग¥यो । आफ्नो भवनअघि ‘पार्किङ स्थल’ का रुपमा प्रयोग गर्न पाएको भागलाई खाली राख्न कहिले राजनीतिक लबिङ÷भनसुन तथा कहिले मुद्दा मामिला गरेर फल्चा ब्युँताउने योजनामाथि अवरोध सिर्जना गरिरहयो ।

मुद्दा जिताउने फोटो

विसं २०७४ को चुनावबाट आएका जनप्रतिनिधिले फल्चा पुनःनिर्माणको प्रयास सुरु गरेको पाइन्छ । ललितपुर महानगरपालिकाको नगरसभाले पाटी पुनःनिर्माणका लागि आर्थिक वर्ष २०७५÷०७६ मा बजेट नै विनियोजन ग¥यो । तर लालीगुराँस सहकारीका सेयर होल्डर अमृतकुमार अर्यालले फेरि उच्च अदालत पाटनमा गए । अदालतले भने अन्य पाटीको सीमा रेखासँग समानान्तर हुने गरी समय् फल्चा बन्ने देखिएकाले अन्तिरम आदेश जारी गरिरहनु नपर्ने फैसला ग¥यो ।

तर लालीगुराँस सहकारीका स्थानीय कर्मचारीसमेत निवेदक भई सर्वोच्च अदालतमा निवेदन प¥यो । उनीहरुको उही माग थियो, पाटी पुनःनिर्माण रोक्का गरी पाऊँ । प्रमुख महर्जनका अनुसार हरेकपटक फल्चा पुनःनिर्माण गर्न रोक्न नहुने निष्कर्षमा अदालत पुग्न एउटा पुरानो फोटो सहयोगी बन्यो । सर्वोच्चले फल्चा बन्ने जग्गा पुल्चोक–जावलाखेल मूल सडकभित्र नपर्ने र पाटी पुनःनिर्माण गर्दा सडक पेटी (पैदल मार्ग) मा असर पर्ने अवस्था नरहेको ठहर ग¥यो ।

“हामीले अदालतमा सधैं अशोक स्तुप वरपरको सबै भाग देखिने पुरानो तस्वीर देखायौं”, प्रमुख महर्जनले भन्नुभयो, “त्यही फोटोको आधारमा हामीले मुद्दा जित्दै आएका हौं ।” मूल सडक र पैदल मार्ग यथावत कायम रहने गरी सडक मापदण्ड विपरीत नहुने गरी सत्तल निर्माण गर्न लागेको विषयमा सो कार्य हुन दिनबाट रोक्ने गरी अन्तरिम आदेश जारी गर्न नमिल्ने गरी नियमानुसार गर्न सर्वोच्चको आदेश आएको थियो ।

अदालतको फैसलापछि पनि लालीगुराँस सहकारीले फल्चा पुनःनिर्माणमा अवरोध गर्दै आएको थियो । प्रमुख महर्जनका अनुसार गृह मन्त्रालयको निर्देशनानुसार भन्दै जिल्ला प्रशासन कार्यालयले नै फल्चा निर्माण नगर्न निर्देशन दिएको थियो । “हामीले गृह सचिवलाई भेटेर फेरि अशोक स्तुप वरपरको पुरानो फोटो देखायौं । त्यसपछि फेरि निर्देशन फुकुवा भएको थियो”, उहाँले भन्नुभयो ।

त्यसपछि जिल्ला अदालतबाट आएको अन्तरकालीन आदेश पनि खारेज भएपछि फल्चा निर्माणका लागि बाटो खुलेको हो । यसपटक पनि महानगरले अदालतमा सोही फोटोसहित विगतको फैसला र निर्णयको प्रतिलिपि पेश गरेको थियो । भविष्यमा फल्चा बन्छ भन्ने थाहा पाउँदा पाउँदै जग्गा किनेर घर बनाइएको महानगरको दावी रहँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?