सिराज खान
नेपालगञ्ज, चैत ७ गते । अवैधरूपमा भन्सार छलेर नेपाल भित्र्याइएको साढे १२ क्विन्टल चिनी सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट राजस्व छलेर अवैध रुपमा भित्र्याइ एक गोदाममा लुकाइ राखेको अवस्थामा सशस्त्र प्रहरीले उक्त चिनी बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक भूपेन्द्र रोकायको कमाण्डमा खटिएको टोलीले नेपालगञ्ज १६ सीमा नाकास्थित टंकपसेरी गाउँको एक गोदाममा लुकाइराखेको अवस्थामा साढे १२ क्विन्टल चिनी बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी जनकराज बस्नेतका अनुसार नेपालगञ्ज ल्याउन ठूलो परिमाणमा चिनी एक गोदाममा लुकाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा उक्त अवैध चिनी बरामद गरेको हो ।
प्रहरीले नेपालगञ्ज १६ जयसपुरबाट २१ कार्टुन टमाटर र तस्करीमा प्रयोग गरिएका तीन वटा साइकलसमेत बरामद गरेको एसपी बस्नेतले बताउनुभयो ।
बरामद चिनी र २१ कार्टुन टमाटर तथा साइकललाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीले जनाएको छ ।