logo
२०८१ मंसिर ९ आईतवार



स्थानीयको सक्रियतामा सामुदायिक भवन निर्माण

खुला |


स्थानीयको सक्रियतामा सामुदायिक भवन निर्माण
लमजुङको बेँसीसहर नगरपालिका १० खाँचेका स्थानीयले बनाएको भवन ।


बेलिना थापा
लमजुङ, चैत ७ गते । लमजुङको बेँसीसहर नगरपालिका–१० खाँचेमा स्थानीयको सक्रियतामा सामुदायिक भवन निर्माण गरिएको छ ।

स्थानीयले भवनको आवश्यकता महसुस गरी चन्दा संकलन गरेर भवन निर्माण गरेका हुन् । स्थानीयको अग्रसरतामा २७ लाख रुपियाँमा प्रगति ज्योति नागरिक आमा समूहको भवन निर्माण भएको हो । भवन निर्माण कार्यक्रमका संयोजक सोमबहादुर तामाङका अनुसार बेँसीसहर नगरपालिकाको सात लाख रुपियाँ, आमा समूहको पाँच लाख रुपियाँ र १५ लाख चन्दा संकलन गरी भवन निर्माण भएको हो । देशविदेशबाट सहयोग संकलन गरी भवन निर्माण गरिएको बताउनुभयो ।

यस्तै, भवनसँगै चार कोठे शौचालय निर्माण गरिएकोे छ । शौचालयका लागि स्थानीय पसबहादुर तामाङले सात लाख रुपियाँ सहयोग गर्नुभएको थियो । भवनको उद्घाटन गर्दै बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले गाउँमा सञ्चालन गरिने सामाजिक कार्यक्रमका लागि भवनले सहयोग गर्ने बताउनुभयो । बैठक, भेला, विवाह, पुटपुटेलगायतको कार्यक्रम सञ्चालनका लागि भवन अति आवश्यक रहेको बताउनुभयो ।

नगरपालिकाले सामुदायिक भवनलाई प्राथमिकतामा राखेर नगरपालिकाभित्र दुई सय वटा भवन निर्माण गरेको बताउनुभयो । सहलगानीमा काम गर्दा गुणस्तरीय र प्रभावकारी हुने भएकाले नगरपालिकाले सोही अनुसार काम गरेको बताउनुभयो । स्थानीय तह आउनुभन्दा पहिले नभएका विकास स्थानीय तह आएपछि भएको बताउनुभयो । उहाँले विकास निर्माणको कामलाई तीव्रता दिएको, कर्मचारी व्यवस्थापन, ऐन, नियम, बनाएको बताउनुभयो ।

आमा समूहका अध्यक्ष फुलमाया तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी अधिकारी, नेकपा एमाले लमजुङका सचिव सुभाष पौडेल, वडा नं. १० का अध्यक्ष पूर्णबहादुर थापा, नेकपा एमाले वडा कमिटीका अध्यक्ष गंगाबहादुर थापा, वडा सदस्य चित्रबहादुर तामाङ, नेपाल तामाङ घेदुङका सहकोषाध्यक्ष सावित्री तामाङलगायतको उपस्थिति थियो । उक्त भवनका लागि सुकमाया तामाङले १ रोपनी र बिनबहादुर तामाङले ४ आना जग्गा दान गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?