logo
२०८१ बैशाख २२ शनिवार



पर्यटन प्रवर्द्धन गर्न सातौँ लमजुङ महोत्सवको तयारी

खुला |
पर्यटन |


पर्यटन प्रवर्द्धन गर्न सातौँ लमजुङ महोत्सवको तयारी


बेलिना थापा
लमजुङ, चैत ७ गते । लमजुङमा पर्यटन प्रवर्द्धनका लागि सातौँ लमजुङ महोत्सवको तयारी थालिएको छ । चैत २५ गतेदेखि वैशाख ४ गतेसम्म बेंसीसहर नगरपालिका–७ स्थित सहजी खेल मैदानमा सञ्चालन हुने महोत्सवको तयारी भइरहेको लमजुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

‘स्थानिय उत्पादन, संस्कृति तथा पर्यटन : कोभिड–१९ पछिको व्यवसाय पुनःस्थापन’ भन्ने मूल नाराका साथ गण्डकी प्रदेशस्तरीय सातौँ लमजुङ महोत्सव २०७८ हुने भएको हो । सङ्घका अध्यक्ष एवं मूल समारोह समितिका संयोजक गुणराज सिलवालका अनुसार परम्परागत कला संस्कृतिको जगेर्ना, व्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको हो । स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गरी जिल्लाको आर्थिक विकासमा टेवा पु-याउन, कोभिड–१९ को प्रभावले सुस्ताएको जिल्लाको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न, जिल्लामा कृषि, पशुपालन र जडीबुटीको प्रवर्द्धन गरी निर्यातजन्य उत्पादनका लागि प्रोत्साहन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवको माध्यमबाट स्थानीय उद्योग, व्यापार, हस्तकलाको प्रवर्द्धन गर्ने, कला संस्कार संस्कृतिको जगेर्ना, नव प्रतिभा प्रोत्साहन र प्रवर्द्धन गरिने उहाँले बताउनुभयो । यसैगरी नेपाल पत्रकार महासङ्घ लमजुङको निर्माणाधीन भवनलाई सहयोग, आदर्श बालगृह, सर्वोदय जेष्ठ नागरिक आश्रम, मानवसेवा आश्रमलाई सहयोग गर्ने र जिल्लाका पर्यटकीय गन्तव्य एवं होमस्टेहरुको थप प्रवर्द्धन गर्ने महोत्सवको उद्देश्य छ । महोत्सवमा करिब दुई सय व्यावसायिक स्टल रहने आयोजकले जनाएको छ । दुई लाख दर्शकले महोत्सव अवलोकन गरिने अपेक्षा गरिएको छ । टिकट बिक्रीबाट प्राप्त रकममध्ये प्रति टिकट १० रुपियाँ सामाजिक सेवा कोषका लागि छुट्याउने निवर्तमान अध्यक्ष राजेश थापाले बताउनुभयो । उहाँका अनुसार सहजी खेलमैदान विकास समितिलाई प्रति टिकट दुई रुपियाँ, दैवी प्रकोप उद्धार कोषमा प्रति टिकट तीन रुपियाँ, आदर्श बालगृह, जेष्ठनागरिक आश्रम र मानवसेवा आश्रमलाई एक÷एक रुपियाँ र नेपाल पत्रकार महासङ्घ लमजुङको भवन निर्माणका लागि दुई रुपियाँ छुट्याउने थापाले बताउनुभयो ।

महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, गण्डकी प्रदेशभित्र रहेका उद्योग तथा व्यावसायिक प्रतिष्ठानको विशेष प्रदर्शनी, कृषि, पुष्प तथा जडीबुटी प्रदर्शनी, विभिन्न लोक सांस्कृतिक प्रदर्शनी, लोकदोहोरी गीत कार्यक्रम, फोटो तथा वृत्तचित्र प्रदर्शनी, होमस्टे प्रवर्द्धनात्मक कार्यक्रम, जातीय एवं सांस्कृतिक सङ्ग्रहालय, विद्यालयस्तरीय नृत्य कार्यक्रम, झाँकी तथा ¥याली प्रदर्शनी, विविध मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिनेछ । नव प्रतिभा, स्थानिय एवं विभिन्न विधाका राष्ट्रिय कलाकारहरुको प्रस्तुति, आन्तरिक पर्यटन प्याकेज टुर तथा आन्तरिक पर्यटन सूचना केन्द्र, नाटक प्रदर्शनी, साहित्यीक कार्यक्रम, कार्यशाला गोष्ठी, सरकारी तथा गैह्रसरकारी निकायको गतिविधि प्रदर्शनी, महिला समूहको नृत्य प्रतियोगिता सञ्चालन गरिने सङ्घका तृतीय उपाध्यक्ष कृष्णजङ गुरुङले बताउनुभयो ।

महोत्सव सञ्चालनका लागि ३५१ सदस्यीय मूल समारोह समिति, ३५ सदस्यीय सल्लाहकार समिति, १३ सदस्यीय कार्य सम्पादन समिति र २५ वटा उपसमिति निर्माण गरिएको लमजुङ उद्योग वाणिज्य सङ्घका महासचिव प्रदीप बस्नेतले बताउनुभयो । सङ्घले सोमबार पत्रकार भेटघाट गरी महोत्सव बारे जानकारी गराएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?