हरिकृष्ण ऐडी
मुगु , चैत ८ गते । छायाँनाथ रारा नगरपालिका–६ कोटिला गाउँका १६ वर्षीय बलबहादुर कार्की र उहाँका ११ वर्षीय भाइ प्रेमले गाउँको लेक घरमा ६० वटा भेडा पाल्दै आउनुभएको छ ।
ग्रामीण भेगका कृषकसँग आत्मनिर्भरता हुने अरु कुनै पनि रोजगार मुलकका काम नहुँदा घर परिवारको खर्च धान्नलाई उहाँहरुले भेडापालन व्यवसाय गर्दै आउनुभएको हो ।
उहाँहरु जस्तै गाउँका अधिकांश कृषकले घरपरिवारको जोहो गर्न भेडापालन गर्दै आएका छन् ।
कार्कीले घरमा वृद्ध आमाबाबालाई साथ दिन र घर व्यवहार चलाउन सहयोग गर्न घना जङ्गलमा भेडापालन गर्दै आउनुभएको हो । उहाँले गरिबीकै कारणले घर चलाउनका लागि भेडापालन गर्न बाध्य भएको र भेडापालनमा लाग्दा विद्यालय जान नपाएको गुनासो गर्नुभयो ।
भेडा चराउने जङ्गल टाढा भएकाले वृद्ध भएका बाआमा हिंड्न नसक्ने भएकाले जान नसक्दा भाइ र आफूले भेडा चराउँदै आएको उहाँको भनाइ छ । भारी हिमपात भएको बेला भेडालाई चरिचरन गर्ने ठाउँसम्म आउजाउ गर्नमा सानो भएकाले चिसोले हात्त र खुट्टा हिउँले खाने गरेको प्रेमले बताउनुभयो ।
उहाँहरुलाई छायाँनाथ रारा नगरपालिका–४ का वडा अध्यक्ष विष्णुकुमार भामले घरमा सम्पर्क गर्न सहज होस भनेर एक सेट मोबाइल र सिम उपलब्ध गराउनुभएको छ । उहाँका अनुसार भेडा उपचारका लागि स्थानीय निकाय र अस्पताल तथा पशु सेवा कार्यालय बाट कुनै पनि औषधि र अन्य अनुदानका कार्यक्रम नपाउँदा भेडापालक कृषकलाई अलि समस्या भएको छ ।
यता पशुसेवा कार्यालयले जिल्लाका भेडापालक कृषकका लागि यो आर्थिक वर्षका लागि जिल्लाका भेडापालन कृषकलाई १० लाख अनुदान रकम, भेडाको लागि ऊन काट्ने कैँची र ऊन छुन्ने काँइयो उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकारबाट विनियोजन भएको कार्यालय प्रमुख भीमचन्द्र बुढाले बताउनुभयो ।
छायाँनाथ रारा नगरपालिकाको पशु शाखाले नगरभरिका पशुपालन कृषकका लागि औषधि उपलब्ध गराउँदै आएको शाखा प्रमुख दीर्घ बुढाले बताउनुभयो । तर कृषकले औषधि पाउन नसकेको बताउँदै आएका छन् ।