बेलिना थापा
लमजुङ, चैत ९ गते । लमजुङको बेँसीसहर नगरपालिका–११ चिति बरबोट चेपाङटारका स्थानीयलाई बालविवाहसम्बन्धी सचेतना दिइएको छ ।
चेपाङटारमा रहेका चेपाङ समुदायलाई लक्षित गर्दै सचेतना गराउँदै स्वास्थ्य सामग्री सहयोग गरिएको छ । सामुदायिक रुपान्तरणका लागि युवा नेपाल (वाईसीटी) नेपालले मङ्गलबार एक कार्यक्रम गरेर सचेत गराएको हो । उक्त क्षेत्रमा सानै उमेरमा विवाह हुने र आमा बन्ने समस्या रहेको भन्दै कार्यक्रम गरेको वाईसीटी नेपालले जनाएको छ । संस्थाका अध्यक्ष रुपेश श्रेष्ठले बालविवाह बारे गाउँगाउँमा सचेतनाको अभाव भएकाले उक्त ठाउँमा कार्यक्रम गरिएको बताउनुभयो । शिक्षाको पहुँचबाट टाढा रहेका समुदायमा पुगेर सचेतना दिन सके समाजमा बालविवाह कम हुने बताउनुभयो । संस्थाले २० वर्षमुनि विवाह गर्ने, सन्तान जन्माउने कार्यले आमा र बच्चाको स्वास्थ्यमा समस्या गर्ने चेतना फैलाउँदै आएको छ ।
बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले समाजमा भइरहेको बालविवाहले महिलाको स्वास्थ्य तथा जन्मिने बच्चाको स्वास्थ्यलाई समेत जोखिममा पार्ने बताउनुभयो । महिलाको जीवनलाई धरापमा पार्ने र शारीरिक रुपमा समस्या सिर्जना हुने भएकाले यसको अन्त्य आवश्यक रहेको बताउनुभयो । सानै उमेरमा विवाह गर्दा घरमा आर्थिक समस्या पैदा हुने, अपाङ्गता भएका बच्चा जन्मने जोखिम बढ्ने बताउनुभयो ।
सहमतिमा २० वर्ष मुनि विवाह भए पनि कानुन विपरीत रहेको बताउनुभयो । सबैले शिक्षा हासिल गरी २० वर्षपछि परिपक्क भएर मात्र विवाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला अस्पताल लमजुङका सोभा ठकुरीले बालविवाहसम्बन्धी सचेतनामूलक प्रस्तुती राख्नुभएको थियो । उहाँले बालविवाह, बालविवाह गरेमा हुने कानुनी व्यवस्था, बालविवाहका कारण, बालविवाह रोक्न समाजमा गर्नुपर्ने सचेतनाका कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । सोही अवसरमा नगरपालिकाले सहयोगमा बरबोटबेंसी र चेपाङटारका प्रत्येक घरका महिलालाई सेनेटरी प्याड र बालबालिकालाई ब्रस र मन्जन प्रदान गरेको छ । बालविवाह सम्बन्धि सन्देशमूलक नाटक पनि प्रस्तुत गरिएको थियो ।
सचेतनामूलक कार्यक्रम सामुदायिक रुपान्तरणका लागि युवा नेपालको आयोजना, बेंसीसहर नगरपालिकाको सहयोग तथा रोट्रयाक्ट क्लब अफ लमजुङ, जिल्ला अस्पताल लमजुङ, जिल्ला प्रहरी कार्यालय र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) को समन्वयमा गरिएको हो ।