बाजुरा, चैत ९ गते । जिल्ला प्रहरी कार्यालय बाजुरामा म्यादी प्रहरीमा दरखास्त दिनेको भीडभाड हुने गरेको छ ।
यहि चैत ६ गतेबाट जिल्ला प्रहरी कार्यालय बाजुराले म्यादी प्रहरीका लागि भर्ना खोलेपछि दरखास्त दिनेको भीडभाड हुने गरेको हो । म्यादी प्रहरी भर्ना हुनेमा धेरै युवाहरु रहेका छन् । शिक्षित भएपनि गाउँमा कुनै रोजागार नपाएपछि युवाहरु म्यादी प्रहरीमा भर्ना हुने क्रम निकै बढ्दो हो ।
कक्षा १२ पास भएको दुई वर्ष भएपनि आर्थिक अभावका कारण उच्च शिक्षा पढ्नका लागि भर्ना हुन नसकेपछि अहिले सो खर्च जुटाउन म्यादी प्रहरीमा दरखास्त दिएको बूढीगङ्गा नगरपालिका–४ का लालबहादुर खडायतले बताउनुभयो ।
२०७८ चैत ६ देखि ९ गतेसम्म बाजुरामा झण्डै नौ सयभन्दा बढीले म्यादी प्रहरीका लागि दरखास्त दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
म्यादी प्रहरीमा दरखास्त दिनका लागि कुनै पनि नेपाली नागरिक १८ वर्ष माथि ५४ वर्ष ननाघेका, राजनीतिक दलको सदस्य नभएको, मानसिकरुपमा स्वच्छ, कुनै पनि फौजदारी मुद्दा नलागेको आतंकारी संगठनको सदस्य नभएको नेपाली नागरिकले म्यादी प्रहरीमा दरखास्त दिन पाउने जिल्ला प्रहरी कार्यालय बाजुराका निं प्रमुख धनदेव साउँदले बताउनुभयो ।