logo
२०८० चैत्र १६ शुक्रवार



दुई महत्वपूर्ण सडकको एकसाथ शिलान्यास

खुला |
प्रदेश |


दुई महत्वपूर्ण सडकको एकसाथ शिलान्यास


माला कर्ण
कल्याणपुर, चैत ९ गते । सप्तरीमा बुधबार एक कार्यक्रमबीच फोर लेन सडकको शिलान्यास गरिएको छ । पुर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र भोैतिक पूर्वाधार तथा यतायात मन्त्री रेणुकुमारी यादवले संयुक्त रुपमा सप्तरी क्षेत्र २ भारत बिहार बोर्डर नोरदेखि छिन्नमस्ता मन्दिर हुँदै राजबिराजसम्म २ लेन सडक र रुपनी राजविराजको ४ लेन सडकको शिलान्यास गरिएको हो ।

छिन्नमस्ता र रुपनी गाउँपालिकामा आयोजित एक कार्यक्रममा शिलान्यास गर्नुहुँदै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका जसपा अध्यक्ष यादवले शिक्षापछि देशको उन्नतिमा यातायात क्षेत्रकै भूमिका महत्वपूर्ण रहने बताउनुभयो । राजामहाराजाको शासनकालमा तराई मधेशलाई उपेक्षा गरी उत्तरतिरबाट पूर्व–पश्चिम राजमार्ग निर्माण गरिँदा तराई मधेशको विकास हुन नसकेको उहाँले बताउनुभयो ।

तराई मधेश बीच भागबाट सडक निर्माण गर्दा बढी जनता लाभान्वित हुने र वन जंगलको पनि सुरक्षा हुने कुरालाई वास्ता नगरी बनाइएको पूर्व–पश्चिम राजमार्गबाट उल्टै वन जंगलको विनास भएको उहाँको टिप्पणी छ । पूर्वउपप्रधानमन्त्री यादवले जनकपुर–जयनगर रेल सञ्चालनको क्रममा रहेजस्तै पूर्व–पश्चिम रेल–वे लाई पनि ड्रिम प्रोजेक्टको रुपमा बढाउनु पर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले दुई–तीन महिनाको प्रयासपछि ४० करोड रुँपिया थप बजेट व्यवस्था गरेर रुपनी–राजविराज सडकलाई फोर लेनमा र राजविराज–छिन्नमस्ता सडकलाई दुई लेनमा बिस्तार गर्ने काम सुनिश्चित भएको बताउनुभयो ।

भारतको सीमावर्ती क्षेत्र न्योरबाट सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर हुँदै सदरमुकाम राजविराजसम्म जोड्ने दुई लेन सडकका लागि आवश्यक बजेट व्यवस्था गरेर यसै आर्थिक वर्षबाट काम सुरु गरिने बताउनुभयो ।

भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सचिव रबिन्द्रनाथ श्रेष्ठको अध्यक्षतामा आयोजित शिलान्यास समारोहलाई मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, जसपाका कार्यकारिणी सदस्य एवं राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, प्रदेशसभा सदस्य मनिष सुमन, पण्डित रामकुमार शास्त्रीलगायतले सो आयोजनाबाट सप्तरी मात्र नभई मुलुककै समृद्धिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?