logo
२०८० चैत्र १६ शुक्रवार



सातै प्रदेशमा नवप्रवर्तन केन्द्र

मुख्य समाचार |


सातै प्रदेशमा नवप्रवर्तन केन्द्र


काठमाडौँ, चैत १० गते । युवालाई उद्यमशीलतामा आकर्षित गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्ले सातवटै प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने भएको छ । त्यसका लागि केही प्रक्रियामा भने युवा संलग्न हुनुपर्नेछ ।
नवीनतम सोच लिएका युवालाई केन्द्रमार्फत आवश्यक परामर्शसाथ प्राविधिक तथा व्यावसायिक तालिम प्रदान गरिनेछ । तालिमको माध्यमबाट उनीहरूको रुचिको क्षेत्रमा समयसापेक्ष ज्ञान तथा सीप प्रदान गर्दै स्वरोजगार र उद्यमशील बनाउन नवप्रवर्तन केन्द्रले सहयोग गर्ने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार नवीनतम सोच लिएर केन्द्रमा जाने युवालाई बसोबास, विज्ञको सल्लाहअनुसार प्रशिक्षण, युवाले लिएको सोचअनुसार उत्पादन हुने वस्तु तथा सेवाको बजारलगायतका विषयमा छलफल गरेपछि मात्रै काम अघि बढ्नेछ ।बागमती प्रदेशमा केन्द्र स्थापनाको काम अघि बढिसकेको छ । बस्नेतका अनुसार यस प्रदेशअन्तर्गत रहने गरी काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा केन्द्र स्थापनाका लागि बहुपक्षीय समझदारी भइसकेको छ । नमोबुद्ध नगरपालिका–८ मा रहेको आरुबारी चौरमा केन्द्र स्थापना हुन लागेको हो । केन्द्रका लागि नगरपालिकाले ५३ रोपनी जग्गा भोगचलनका लागि परिषद्लाई दिएको छ ।

समझदारीअनुसार केन्द्र स्थापना र सञ्चालनको मुख्य भूमिका राष्ट्रिय युवा परिषद्ले निर्वाह गर्नेछ । यस्तै नमोबुद्ध नगरपालिकाले जग्गा भोगाधिकार र अभ्यास साझेदारका रूपमा भूमिका निर्वाह गर्नेछ । काठमाडौँ विश्वविद्यालयले ज्ञान साझेदार र आइडिया स्टुडियो नेपालले प्राविधिक साझेदारका रूपमा भूमिका निर्वाह गर्ने परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्माले जानकारी दिनुभयो ।

केन्द्रका लागि परिषद्ले गत वर्ष एक करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । यस वर्ष भने ४९ लाख रुपियाँ छुट्याइएको जानकारी शर्माले दिनुभयो । त्यस्तै प्रदेश १ अन्तर्गत पनि केन्द्र स्थापनाका लागि मोरङको उर्लाबारीमा रहेको मदन भण्डारी शैक्षिक प्रतिष्ठानसँग सम्झौता भएको परिषद्ले जनाएको छ । शर्माले भन्नुभयो, “यस प्रदेशको सामाजिक विकास मन्त्रालयसँग यस विषयमा छलफल भइरहेको छ । अन्य प्रदेशमा पनि काम अघि बढिसकेको छ ।” प्रदेश १ मा यस कामका लागि ६५ लाख रुपियाँ बजेट छुट्याइएको जानकारी शर्माले दिनुभयो ।

परिषद्ले मुलुकभरका सबै प्रकारका शैक्षिक संस्थाहरूले आफ्ना नियमित कार्यक्रममा नवप्रवर्तन तथा इन्क्युबेसनलाई समावेश गर्दै लैजाने, औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरूले नवप्रवर्तन तथा इन्क्युबेसनलाई आफ्ना क्रियाकलापमा आत्मसात् गर्दै लैजाने नीति परिषद्ले लिएको छ । त्यसबाहेक विज्ञान र प्रविधिका विद्यार्थीलाई प्रतिस्पर्धाका आधारमा नवप्रवर्तन अनुदान उपलब्ध गराउँदै लैजानेलगायतका लक्ष्य परिषद्ले राखेको छ ।

सरकारले युवा विकासका क्षेत्रमा युगान्तकारी परिवर्तन गराउने कार्यक्रमका रूपमा ‘युवा नवप्रवर्तन केन्द्र’को स्थापनालाई पन्ध्रौँ पञ्चवर्षीय योजनामा समेटेको छ । सोही योजनाअनुसार सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममार्फत प्रक्रिया अघि बढाएको हो । परिषद्ले सातवटै प्रदेशबाट न्यूनतम दुई विद्यालय छानेर एक शैक्षिक संस्था एक उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने तयारी पनि गरेको छ ।

युवाको समग्र विकासका लागि सरकारले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहने गरी २०७२ साल फागुन १९ गते परिषद् स्थापना गरेको थियो । शिक्षालाई गुणस्तरीय, व्यावसायिक, सीपमूलक र रोजगारमूलक बनाउँदै सम्पूर्ण युवाको पहुँच सुनिश्चित गर्ने भन्दै सरकारले युथ भिजन २०२५ सहित १० वर्षको रणनीतिक योजना अघि सारेको छ ।

परिषद्ले केन्द्र तथा जिल्लास्तरमा युवा लक्षित तालिम सञ्चालन, प्रदेश तथा स्थानीय तहमा राजनीति र विकासमा सहभागिता बढाउन कार्यक्रमका साथै र युवा (आर्थिक, राजनीतिक र सामाजिक विकास) सहभागिता जनाउने तालिम सञ्चालन गर्दै आएको प्रशासकीय प्रमुख शर्माले जानकारी दिनुभयो । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवाको दायरामा राखिएको छ । यो समूहको जनसङ्ख्या ४० प्रतिशत हाराहारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?