logo
२०८० चैत्र १६ शुक्रवार



स्थानीय चुनावमा गठबन्धन, दलहरू नै प्रष्ट छैनन्

राजनीति |


स्थानीय चुनावमा गठबन्धन, दलहरू नै प्रष्ट छैनन्


काठमाडौं, चैत १० गते । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा देशका प्रमुख राजनीतिक दलहरुसहित ७९ दल सहभागी हुँदैछन् । आशन्न निर्वाचनअघि देशका प्रमुख राजनीतिक दलका नेतादेखि पार्टीका कार्यकर्ता सबै यतिबेला देशव्यापी दौडाहामा छन् ।
प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले तोकिएकै मितिमा निर्वाचन हुने बताउँदै आउनुभएको छ । यसैगरी, उहाँले चुनावसम्मै गठबन्धनका दलहरु सँगै जानुपर्नेमा पनि सकारात्मक देखिँदै आउनुभएको छ । त्यसो त गठबन्धनका दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी पनि यस विषयमा सहमत नै देखिन्छन् ।

संसदीय चुनावसम्म काँग्रेस र माओवादीको तालमेल सम्भव देखिँदैन, माओवादीमा अर्को गृहकार्यमा भइराछ
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव लक्षित आयोजना गरिएका विभिन्न कार्यक्रममा गठबन्धनलाई जोड दिनुको साथसाथै पार्टीको राजनीतिक एजेण्डाले जनताको मन जित्नुपर्ने प्रमुख विषय भएको पनि बताउँदै आउनुभएको छ । मङ्गलबार अध्यक्ष प्रचण्डले सरकारको भागबण्डाका विषयमा थोरै असन्तुष्टिको भाव पनि राख्नुभयो । यस विषयमा बोल्नुहुदै राजनीतिक विश्लेषक डा.अच्युत वाग्ले भन्नुहुन्छ, – ‘नयाँ ढङ्गको कुरा आएको छ माओवादीको । त्यो भनेजस्तो मन्त्रालय काँग्रेसले दिएन भने अर्कोसँग मिल्न जाने गृहकार्य भइरहेको देख्छु म ।’

विगतको राष्ट्रियसभाको निर्वाचनमा जस्तै स्थानीय तहमा पनि गठबन्धनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै प्रतिस्पर्धा गर्ने मुख्य देखिन्छ । गठबन्धनभित्र मात्रै तालमेल हुने सम्भावना रहेको तर यो अलि अस्वभाविक र यसमा भूराजनीति पनि सक्रिय हुने उहाँ देख्नुहुन्छ । , उहाँले भन्नुभयो, आफ्नै तागतमा चुनावमा जाउँ भन्नु काँग्रेसलाई धम्क्याउने भाषा हो ।
पहिले गठबन्धनबाट छुटौं र अरु कसैको बलबुतामा कम्युनिष्टको एकता होला भन्ने देखिन्छ । संसदीय चुनावसम्म माओवादी र काँग्रेसको तालमेल भएर जाने सम्भावना नदेखिएको उहाँले भन्नुभयो ।

‘स्थानीय तहमा मोर लेस आइडिओलोजिकल लाइनमा चुनाव हुन्छ । केन्द्रमा तालमेल गरे पनि कम्युनिष्टको भोट काँग्रेसमा आउँदैन ।’, उहाँले बताउनुभयो ।

गठबन्धन र एमालेबीच स्थानीय तहमा तालमेल

तर, चुनावमा कोसँग कुन दल गठबन्धन गर्छ भन्ने औपचारिक निर्णय कुनै पनि दलले गरिसकेका छैनन् । अहिलेसम्म औपचारिकरुपले तालमेल भएर जान्छौं भनेर कसैले भनेका छैनन्, काँग्रेसले पनि निर्णय गरिसकेको छैन । राजनीतिक विश्लेषक झलक सुवेदी बताउनुहुन्छ, – ‘दलहरुबीच गठबन्धनको सम्भावना छ । एमाले वा अरु दलका बीचमा पनि । चुनावमा काँग्रेस र अरु साना दलका बीचमा पनि छुट्टा–छुट्टै गठबन्धन हुन सक्छ ।’
तत्काललाई वाम एकता पटक्कै सम्भव छैन तर वामपन्थी र लोकतान्त्रिक जोसँग पनि चुनावी तालमेल वा साँठगाँठ भने हुने सुवेदी बताउनुहुन्छ ।
यसकारण पनि, दलहरुबीच चुनावी तालमेल हुने भएपनि यसको चित्र भने प्रष्ट नभएको उहाँको भनाई छ ।

प्रधानमन्त्रीजीको मेजोरिटी छ

गठबन्धनमा काँग्रेस नेता डा. शेखर कोइराला पक्षले कम्युनिष्ट पार्टीहरुसँग तालमेल गर्न नहुने बताउँदै आएको छ । राजनीतिशास्त्री प्राध्यापक डा. लोकराज बराल भन्नुहुन्छ, गठबन्धनलाई चुनावसम्मै लाने भनेर प्रधानमन्त्रजिीले भन्नुभएको छ, उहाँ मेजोरिटी पनि छ ।
‘शेखर कोइरालाले त्यसरी भनिराछ, त्यो पार्टीले निर्णय गर्दैन होला । सन्तुलन बिग्रन्छ भनेर सँगै जान्छन् जस्तो लाग्छ । अहिले किन छुटिनु र ?’, उहाँ भन्नुहुन्छ ।

तर, स्थानीय तहसम्म मात्रै हो या संसदीय चुनावसम्म भन्नेबारे भने अझै स्पष्ट छैन । प्रतिनिधिसभामा भागबण्डा गर्ने कुरा प्रष्ट नभएकोले पनि संसदीय चुनावसम्ममा गठबन्धन सँगै जानेमा ढुक्क हुने स्थिति छैन ।
काँग्रेसभित्रै एक्लै चुनावमा जानुपर्ने कुरामा उहाँले भन्नुभयो, – पार्टीमा सबै सन्तुष्ट हुन्छन् र ? एमसीसीको बारेमा पनि झलनाथ खनाल उफ्रेर के गरे ?

चुनावमा गठबन्धन सँगै गए पनि यसको बहुमत आउने सम्भावना भने उहाँ देख्नुहुन्न । ‘लार्जेस्ट पार्टीसम्म हुन सक्ला तर बहुमत हुने देख्दिनँ ।’, उहाँले भन्नुभयो ।
उता, एमालेले पनि चुनावमा एक्लै लड्ने बताउँदै आएको छ । गठबन्धनका दलहरु पनि चुनावी तालमेलबारे प्रष्ट हुन सकिरहेका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?