logo
२०८१ बैशाख १५ शनिवार



बाँकेमा अतिक्रमित संरचना हटाउन शुरु

खुला |
प्रदेश |


बाँकेमा अतिक्रमित संरचना हटाउन शुरु


साबित्री गिरी
कोहलपुर, चैत १० गते । सडक डिभिजन कार्यालय नेपालगन्जले नेपालगन्ज, कोहलपुर र सुर्खेत सडकखण्ड अन्तर्गत बाँके जिल्लाको जमुनाहादेखि कोहलपुरसम्मको क्षेत्रमा अतिक्रमित संरचना हटाउन सुरु गरिएको छ । सार्वजनिक सडक ऐन, २०३१ ले तोकेको मापदण्ड विपरित निर्माण भएका, सडक अतिक्रमण गरी बनाइएका संरचना डोजर लगाएर विहीबारदेखि भत्काउन सुरु गरिएको कार्यालयका डिभिजन प्रमुख होमबहादुर एसीले बताउनुभयो ।

२०६९ असोज ४ गते नेपाल सरकार मन्त्रिपरिषदबाट विल्डर्स एरियाको लागि तोकेको मापदण्ड विपरित रहेका स्थाई अस्थाई संरचनाहरु हटाउने निर्णय गरेबमोजिम कार्यालयले एक्सन लिएको एसीले बताउनुभयो । मन्त्रिपरिषदको निर्णयअनुसार हाललाई सडकको दुवै तर्फ २१–२१ मिटरलाई विल्डर्स क्षेत्र तोके पनि पछि २५ मिटर कायम गरिने बताउनुभयो ।

जमुनाहादेखि कोहलपुर सडकखण्डमा २१ देखि २५ मिटरसम्मको मापदण्ड तोएिको छ । सोही बमोजिम मनपरी संरचना बनाउँदा सडक अतिक्रमण बढेपछि सडक डिभिजन कार्यालय नेपालगन्जले विहीवार सुरक्षाकर्मीसहित कोहलपुर बजार पुगेर कार्य सुरु गरेको हो ।

कोहलपुर उद्योग वाणिज्य संघ कोहलपुरले संरचना भत्काउन थप ७ दिनको माग गरेपछि प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीकोको उपस्थितिमा सोहीअनुसारको निर्णय गरिएको छ । संरचना भत्काउन डोजर सम्बन्धित ठाउँमा पुग्दा स्थानियले जानकारी नपाएको बताएपनि सडक डिभिजन कार्यालय सूचना प्रवाह समयमा नै गरेको जानकारी दिएको छ ।

यसअघि पुष मसान्तसम्म संरचना हटाउन समयसीमा तोकिएको थियो । तर पनि घरधनी तथा व्यापारीले अटेर गरेपछि सरोकारवालाहरु डोजरसहित संरचना भत्काउन पुग्नुभएको थियो । कोहलपुरमा सडक अतिक्रमण हटाउने कामको लागि एक हप्ताको समय माग गरेपछि नेपालगन्ज कोहलपुर सडक खण्डमा पर्ने जानकारी गाउँपालिका वडा ६ पिप्रहवाबाट संरचना भत्काउन सुरु गरिएको छ ।

यो क्रम जमुनाहासम्म चल्ने र कोहलपुरमा एक हप्ताभित्र संरचना नभत्काए डोजर प्रयोग गरिने सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख एसीले बताउनुभयो । अतिक्रमित संरचना हटाउन अनुरोध गर्दै अनुगमनमा निस्कनु भएका बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले सार्वजनिक सम्पत्ति मिचेर बाधा अवरोध नगर्न सबैलाई अनुरोध गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?