logo
२०८१ बैशाख १३ बिहीवार



बाँकेमा चैते धान रोपाइ शुरु, २५ विघा खेतमा धान रोपिदै

खुला |
प्रदेश |


बाँकेमा चैते धान रोपाइ शुरु, २५ विघा खेतमा धान रोपिदै


साबित्री गिरी
कोहलपुर, चैत १० गते । बाँकेमा चैते धान रोप्न सुरु गरिएको छ । यस बर्ष बाँकेमा २५ विघा क्षेत्रफलमा चैते धान लगाइँदैछ । फागुनमा राखेको चैते धानको विउँ तयार भएकाले किसानले रोप्न सुरु गरेको कृषि ज्ञानकेन्द्र बाँकेका प्रमुख सागर ढकालले बताउनुभयो ।

उहाँकाअनुसार गत बर्ष २ विघा क्षेत्रफलमा चैते धान खेती गरिएको थियो । यसबर्ष चैते धान प्रदर्शनी कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र बाँकेले हर्दिनाथ १, हर्दिनाथ ३ र चैते ५ नामको धानको विउँ, मल र विषादी कृषकलाई निशुल्क उपलब्ध गराएको जनाएको छ ।

बाँकेमा चैते धानको लागि पकेट क्षेत्र नतोकिए तापनि अहिलेसम्म बाँकेको खजुरा गाउँपालिकाको वडा १, राप्तीसोनारी गाउँपालिकाको वडा ६, बाँकेको डुडुवा गाउँपालिकाका केही क्षेत्र र बाँकेको बैजनाथ गाउँपालिकाको वडा ८ मा चैते धान खेती हुँदैआएको छ । कृषि ज्ञान केन्द्रले गतबर्षदेखि किसानलाई चैते धानमा उत्साह बढाउन निशुल्क रुपमा सहयोग गर्दैआएको छ ।

एक समारोहबीच चैते धान रोप्ने कार्यको औपचारिक रुपमा सुरुवात गरिएको छ । किरण नाला लिफ्ट सिंचाई जल उपभोक्ता समिति खजुरा गाउँपालिका वडा १ राधापुर बाँकेले नमुना खेतीका रुपमा चैते धान रोपेको छ । जल उपभोक्ता समितिका अध्यक्ष मगन सिंह थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहरुले हिउँदमा बाँझो हुने जमिनलाई सदुपयोग गर्न चैते धानखेती कार्यक्रम उपयुक्त भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय कृषक समुह महासंघका लुम्विनी प्रदेश अध्यक्ष सर्वजित बिष्टले चैते धान खेती कार्यक्रम प्रवद्र्धन गर्न सकेमा नेपालमा धानको उत्पादन बढ्ने बताउनुभयो । लुम्विनी प्रदेशका सांसद बाबुराम गौतमले चैते धानलाई उत्पादनमुखी बनाउन सिंचाई तथा मल र विउ लगायतमा आवश्यक पहल गर्ने बताउनुभयो ।

सिंचाई सुविधा हुन सकेको खण्डमा यहि अनुपातमा चैते धान पनि गर्न सकिने राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघका केन्द्रीय सदस्य शालिकराम डांगीले बताउनुभयो । बाँके धान उत्पादनका लागि उर्वर ठाउँ मानिन्छ । बाँकेमा बर्खेधान ३६ हजार ५ सय हेक्टरमा उत्पादन हुन्छ ।

किसानहरुको मागका आधारमा यस बर्ष चैते धान उत्पादन कार्यक्रम सुरु गरिएको र माग बढ्दै गएमा सोहीअनुसारका कार्यक्रम संचालन गरिने कृषि ज्ञानकेन्द बाँकेले जनाएको छ । यसबर्ष बाँकेमा ३० जना बढी किसानले चैते धान रोप्नुभएको छ । ६ कठ्ठा भन्दा धेरै खेती गर्ने किसानलाई ज्ञानकेन्द्रले सहयोग गर्दैआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?