logo
२०८० चैत्र १६ शुक्रवार



बाली जोगाउन रातभरि खेतमै जाग्राम

खुला |
प्रदेश |
समाज |


बाली जोगाउन रातभरि खेतमै जाग्राम


प्रतीक इच्छुक शर्मा
सल्यान, चैत ११ गते । अन्नबाली जोगाउन कालिमाटी गाउँपालिका काप्रचौरका भीमसरा बुढालाई खेतमै जाग्राम बसेर रात बिताउनुपरेको छ । उहाँलार्ई खेतमा रात बिताउन रहर भने होइन, बाध्यता हो । काप्रचौरकै टेकबहादुर बिकले पनि बाह्रै महिना अन्नबाली जोगाउन हेरालो बस्नुपर्ने बाध्यता सुनाउनुभयो ।

काप्रेचौर क्षेत्र बाँके निकुन्ज क्षेत्रभित्र पर्ने बस्ती भएकाले सयौँ किसान अन्नबाली जङ्गली जनावरवाट यसरी नै रातभरि खेतबारीमा जाग्राम बस्नेगरेका हुन् । बँदेल, बाँदर र दुम्सीले मकै, गहुँबाली‚ फलफूल, तरकारीमा क्षति पु¥याउँछन् भने बाघले गोठभित्रै आएर गाइबस्तु खाइदिने गरेको छ ।

केही किसानले वन्यजन्तुकै कारण अधिकांश स्थानीयले बाली लगाउन छाडेका छन् । स्थानीय निर्मला वुढाले अन्नबाली जङ्गली जनावरले खाईदिदा वर्षभरि खान पुग्ने जग्गा बाँझो हुन थालेपछि बाहिरको खाद्यान्नको भर पर्नुपरेको बताउनुभयो । उहाँकाअनुसार जङ्गली जनावरका कारण बालीमा क्षति पु¥याउन थालेपछि केहीले खेती गर्न छाडेका छन् ।

सरकारले २०६७ सालमा काप्रेचौरसम्म बाँके राष्ट्रिय निकुञ्जमा समेटेपछि जङ्गली जनावरले हैरान बनाएका छन् । मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष डम्बर पुनले राष्ट्रिय निकुञ्जसँगै मध्यवर्ती क्षेत्रमा पर्ने काप्रेचौर, ¥याङ, आम्बास, स्वयम्बास, कुसुमतरा, हाउखोला, बाटुले लगायतका स्थानियले जङ्गली जनावरबाट क्षति बेहोर्नुपरेको बताउनुभयो ।

उहाँका अनुसार एकातिर निकुञ्जले वन जङ्गल र वन्यजन्तुको संरक्षण गरे पनि अर्कोतर्फ भने निकुन्ज क्षेत्रभित्र बसोबास गर्ने स्थानीयले लगाएको बाली जोगाउन सकिएको छैन । बाघले समेत घरभित्रै पसेर गाई–बाख्रा मार्ने, मान्छेलाई आक्रमणको प्रयास गर्ने गरेको छ । निकुन्जको मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तुलाई हानी पुग्ने कुनै पनि गतिविधि गर्न नपाइने र संरक्षण गर्नुपर्ने भएपछि वन्यजन्तुले नै मानव जीवनलाई प्रभावित बनाइरहेको छ ।

यस क्षेत्रमा ५ सय घर परिवार बसोबास गर्छन् । समस्याको दीर्घकालीन समाधान खोज्न स्थानीयले माग गरेका छन् । जङ्गली जनावरले प्रत्येक वर्ष बालीनालीमा क्षति गर्दै आए पनि क्षतिपूर्ति पाएका छैनन् ।

कालिमाटीमा गाउँपालिका वडा ७ भित्र निकुन्जवाट आएका जङ्गली जनावरले बालीेमा गरेको क्षतिको विवरण पठाए पनि राहत नपाएको गुनासो छ । कालिमाटी गाउँपालिका ७ का वडा अध्यक्ष नैनसिंह रानाले स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन नसकेको बताउनुभयो । उहाँका अनुसार बालीनालीमा वन्यजन्तुले ठूलो क्षति गर्ने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?