logo
२०८० चैत्र १६ शुक्रवार



खाद्यान्न नपुगेको मासपुरवासीको गुनासो

खुला |
प्रदेश |


खाद्यान्न नपुगेको मासपुरवासीको गुनासो


राजन रावत
हुम्ला, चैत ११ गते । दुर्गमको बस्ती मासपुरमा खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न हालसम्म नपाएको गुनासो स्थानीयले गर्नुभएको छ । खाद्यान्न बिक्री केन्द्र पुग्न एक दिन लाग्ने र लिमीटेडको खाद्यान्न बिक्री वितरणबारे मासपुरवासीलाई जानकारी नहुने भएपछि खाद्यान्नबाट बन्चित हुँदै आउनुभएको छ ।

ताँजाकोट गाउँपालिका –३ को मासपुर गाउँका स्थानीय धनबहादुर बुढाले हालसम्म लिमिटेडको खाद्यान्न गाउँवासीले नपाएको गुनासो गर्नुभयो । गाउँपालिका केन्द्र छप्रेलामा रहेको बिक्री केन्द्र मासपुरबाट पुग्न एक दिन पैदल लाग्ने र केन्द्रबाट खाद्यन्न बिक्रीबारेमा जानकारी पनि नहुने भए पनि पाउनबाट वञ्चित हुँदैआएको बताउनुभयो । स्थानीयले धेरै दुःख गरेर खाद्यान्न खरिद गर्दा पाँच किलो मात्र पाउने गरेकाले पनि सो खाद्यान्न प्रति स्थानीयको चासो नहुँने बताउनुभयो ।

कतिपय स्थानीयलाई त बिक्री केन्द्रबाट ढुवानी अनुदानमा खाद्यान्न बिक्री हुन्छ भन्नेसम्म जानकारी नभएको पाइएको छ । दुर्गमका लागि लिमिटेडले ढुवानीको व्यवस्था गरेर गाउँमा पुर्याउने व्यवस्था गर्न मासपुरवासीको माग छ । अर्को कुरा कहिल्यै लिमिटेडको खाद्यन्न नपाउने मासपुरवासीका लागि निश्चित कोटाको व्यवस्था गर्न लिमिटेडसँग स्थानीयले माग गर्नुभएको छ ।

विगत चार वर्षदेखि छप्रोलामा बिक्री केन्द्र स्थापना भएर ताँजाकोट गाउँपालिकाका लागि खाद्यान्न बिक्री गरिदै आएको छ । लिमिटेडको सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार यस बारेमा आफूलाई जानकारी नभएको र बुझेर खाद्यान्न नपाउने मासपुरवासीलाई प्राथमिकतामा राखेर खाद्यान्न बिक्री गर्न बिक्री केन्द्रका इन्चार्जलाई निर्देशन दिइनेछ । चालु आर्थिक वर्षमा बिक्री केन्द्रका लागि एक हजार क्विन्टल खाद्यान्न पैदल मार्गबाट कोटा निर्धारण गरिएकोमा हालसम्म २७० क्विन्टल मात्र ढुवानी भएर छप्रेला पुगेको बताउनुभयो ।

त्यसैगरी मासपुरका स्थानीय बासिन्दाले हालसम्म नेपाल साल्ट्र ट्रेडिङ कर्पोरेशनको ढुवानी अनुदानको नुन पनि नपाएको गुनासो गर्नुभयो । गाउँवासीले नुन पनि कवाडी बजारबाट प्रतिकेजी २५ रुपियाँ तिरेर खरिद गर्दै आउनुभएको छ । मासपुर गाउँमा २१ घरधुरीको १५० भन्दा बढी जनसङ्ख्या छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?