logo
२०८० चैत्र १६ शुक्रवार



सञ्चारिका समूहद्वारा पत्रकारलाई पुरस्कार र सम्मान

खुला |
समाज |


सञ्चारिका समूहद्वारा पत्रकारलाई पुरस्कार र सम्मान


गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ११ गते । सञ्चारिका समूह नेपालको २५ औं साधारणसभा र आठौं महाधिवेशनको अवसरमा विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । सो अवसरमा गोरखापत्र अनलाइनमा कार्यरत सपना थामी र इ–कागज डट कममा कार्यरत सिर्जना खड्कालाई ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७७’ प्रदान गरिएको छ ।

पत्रकार विद्या राईलाई ‘सञ्चारिका समानता पुरस्कार २०७७’ प्रदान गरिएको छ । याे पुरस्कार पत्रकार फातिमा वानु र राईलाई संयुक्त रूपमा प्रदान गरिएको हो । पत्रकार मिना कुँवरलाई ‘सञ्चारिका समानता पुरस्कार २०७६’ प्रदान गरिएको छ । सञ्चारिका समानता पुरस्कार राशि १५ हजार रुपियाँ छ ।

समूहले ‘समानताका लागि सञ्चार’ भन्ने आफ्नो नारालाई सफल बनाउन २०५७ सालदेखि हरेक वर्ष यो पुरस्कार प्रदान गर्दैआएको छ । यसैगरी ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७६’ रौतहट जिल्लाबाट पत्रकारिता गर्दै आउनुभएकी पत्रकार बिना राउतलाई प्रदान गरिएको छ । पत्रकार राउत रौतहट जिल्लाको रेडियो राजदेवी र फ्रन्टलाइन खबर दैनिकमा कार्यरत हुनुहुन्छ ।

साथै ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७७’ रुकुम पश्चिम जिल्लाबाट पत्रकारिता गर्दै आउनुभएकी पत्रकार हीरा परियारलाई प्रदान गरिएको छ । पत्रकार परियार रुकुम पश्चिमबाट ग्यालेक्सी फोरके टिभीमा कार्यरत हुनुहुन्छ । यो पुरस्कार स्व. पत्रकार उमा सिंहको नाममा वि.स. २०६६ मा स्थापना गरिएको हो । पुरस्कारको राशी सात हजार एक सय एघार रूपियाँ छ ।

पत्रकारद्वय सेतोपाटी डट कममा कार्यरत मनिका विश्वकर्मा र नेपाल टेलिभिजनमा कार्यरत सीतादेवी पोखरेल (मिनु) लाई ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७६’ प्रदान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?