logo
२०८१ बैशाख ८ शनिवार



सांसद साहलाई थप उपचारका लागि काठमाडौंं लगियो

खुला |
प्रदेश |


सांसद साहलाई थप उपचारका लागि काठमाडौंं लगियो


जनार्जन खत्री
सर्लाही, चैत १२ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका –६, बयलवासमा शनिबार बिहान भएको झडपमा सांसद प्रमोद साह घाइते हुनु भएपछि उहाँलाई थप उपचारका लागि काठमाडांै लगिएको छ । बयलवास बजारस्थित सडक छेउमा रहेको फूलजोरबाबा युवा क्लबको भवन निर्माण र सडकमा नाला बनाउने विषयमा दुई पक्षबीच भएको झडपमा जनता समाजवादी पार्टी (जसपा) को प्रमुख सचेतक समेत रहनुभएका सर्लाही क्षेत्र १ का सङ्घीय सांसद साह घाइते हुनुभएको छ ।

टाउको र पिठ्यूमा चोट लागेर घाइते साहलाई बयलवासमा सामान्य उपचार पश्चात शनिबार मध्यान्ह थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौंं लगिएको सो दलले जनाएको छ । झडपमा सामान्य घाइते हुनुभएका सांसद साहका अङ्गरक्षक (प्रहरी सहायक निरीक्षक) विनोदप्रसाद यादवको बयलवासमै उपचार भइरहेको प्रहरीले जनाएको छ । फूलजोर–त्रिभुवननगर सडकमा पर्ने बयलवास बजारमा रहेको फुलजोरबाबा युवा क्लबको भवन सडक विस्तारका क्रममा आधा भत्किएको छ ।

ईश्वरपुरका नगरप्रमुख मनोजकुमार देवकोटा पक्षले बाटोमा परेर बाँकी रहेको क्लबको जग्गामा क्लबकै अर्को नयाँ भवन निर्माण गर्न लागेपछि सांसद साह पक्षले विरोध जनाएको थियो । नगरप्रमुख देवकोटा पक्षले पहिलेकै ठाउँमा भवन निर्माणको काम अघि बढाएपछि सांसद साह आफ्नो कार्यकर्तासहित बिहान भवन निर्माणको काम रोक्न खोज्दा झडप भएको बताइएको छ ।

झडपमा सांसद साह र नगरप्रमुख देवकोटा चढ्ने गाडीमा तोडफोड भएको छ । यस्तै, केही मोटरसाइकलमा पनि तोडफोड भएको स्थानीयले बताउनुभएको छ । जसपा सर्लाहीका अध्यक्ष वीरेन्द्र रायले नगरप्रमुख देवकोटाको समूहले सांसद साहमाथि साङ्घातिक आक्रमण गरेको आरोप लगाउनुभयो । त्यस्तै, नगरप्रमुख देवकोटाले भने सर्वपक्षीय बैठक बसेर क्लबको बाँकी रहेको जग्गामा नै भवन निर्माण गर्ने सहमति अनुसार काम गरिएको बताउनुभयो ।
सोहीअनुसार, क्लबको भवन अगाडि नगरपालिकाले आफ्नो मापदण्डअनुसार नालासहित बाटो निकाल्न खोज्दा सांसद साहले आफ्ना एक जना कार्यकर्ताको घरमा मूल बाटो निकाल्नु पर्ने माग गर्नुहुँदै कार्यकर्ताहरु उतारेर झडप सिर्जना गराएको नगरप्रमुख देवकोटाको आरोप छ । शनिबार बिहानको झडपपछि बयलवास बजार क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बयलवास बजार क्षेत्रको अवस्था अहिले सामान्य रहेको बताउनुभयो । पुनः झडप हुन नदिन आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?