logo
२०८० चैत्र १६ शुक्रवार



नगरपालिकाको सहयोगमा छोरीको नाममा बैंक खाता सञ्चालन

खुला |
प्रदेश |


नगरपालिकाको सहयोगमा छोरीको नाममा बैंक खाता सञ्चालन


राजकुमार भट्टराई
खोटाङ, चैत १२ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका छोरीहरुको नाममा बैंक खाता सञ्चालन गरिएको छ । नगरपालिकाको ‘बालिका बचत’ कार्यक्रम अन्तर्गत छोरी जन्मिनसाथ बैंक खाता खोल्ने र छोरीको भविष्यका लागि नगरपालिकाले रकम जम्मा गरिदिने गरेको छ ।

हलेसी तुवाचुङ नगरपालिकाले अघिल्लो वर्षबाट यो कार्यक्रमको सुरुवात गरेको हो । सुरुवातबाटै कार्यक्रम प्रभावकारी बन्दैगएको स्थानीयको भनाइ छ । छोरीको नाममा बैंकमा खाता खोलेर आमा गर्भवती हुँदा नियमित स्वास्थ्य परीक्षण गरेको र बर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामा सुत्केरी भएको प्रमाण सम्बन्धित वडा कार्यालयमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

उपलब्ध प्रमाणका आधारमा वडाले सिफारिस दिने गरेकोछ । वडाको सिफारिसका आधारमा नगरपालिकाले सम्बन्धित बालिकाको नाममा वर्षेनी ४ हजारका दरले तीन वर्षसम्म १२ हजार रुपियाँ खातामा जम्मा गरिदिने बताएको छ । सो रकम सम्बन्धित बालिकाले १५ वर्ष पूरा भएपछि मात्र निकाल्न पाइने नगरपालिकाले जनाएको छ ।

कार्यक्रम सुरु भएयता हालसम्म नगरपालिकाभरिका १२९ बालिकाको नाममा खाता खोलेर रकम बचत भइसकेको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले जानकारी दिनुभयो । उहाँकाअनुसार कार्यक्रम अन्तर्गत हालसम्म ४६ जना बालिकाको नाममा खोलिएको बचत खातामा दोस्रो किस्ता र ८३ जनाको खातामा पहिलो किस्ताबापतको रकम जम्मा भएको छ । रकम जम्मा भएको बैंक भौचर नगरपालिकाले सम्बन्धिच बालिकाको आमालाई जिम्मा लगाउने गरेको छ ।

रकम जम्मा भएको भौचर पाएका बालिकाका आमाहरुले नगरपालिकाको सानो कामले आफूलाई ठूलो सहयोग पुग्ने बताउनुभएको छ । नगरपालिकाले जम्मा गरिदिएको १२ हजारमा आफूहरुले पनि सकेको रकम थपिदिने र छोरीकाे सो रकम पढाइमा खर्च गर्दै भविष्य उज्ज्वल बनाउने आमाहरुको विश्वास छ ।

पितृसत्तात्मक सोचका कारण अझै समाजमा छोरीलाईभन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्यको प्रयासस्वरूप नगरपालिकाले ‘बालिका बचत’ कार्यक्रम सुरु गरेको नगरपालिकाकी उपमेयर विमला राईले बताउनुभयो । उपमेयर राईले भन्नुभयो ‘छोरी जन्माएको भन्दै आमालाई परिवारले हेला गर्ने प्रबृत्ति समाजमा छ, त्यसैले छोरी जन्मिँदा दुःखी हैन परिवार खुशी हुनुपर्छ र छोरीले पनि छोरालेजस्तै शिक्षा लिन पाउनुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो ।’

‘बालिका बचत’ कार्यक्रम सुरु गरेपछि नगरपालिकामा नियमित गर्भजाँच गराउने र बर्थिङ सेन्टरमा गएर सुत्केरी गराउने महिलाको संख्या वृद्धि भएको उपमेयर राईले बताउनुभयो । यसबाट नगरपालिकामा मातृ तथा शिशु मृत्युदर र बालविवाहको दर समेत घटेको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?