logo
२०८१ बैशाख १५ शनिवार



सर्लाहीको धनकौलमा आगलागीबाट १३ घर जलेर नष्ट

खुला |
प्रदेश |


सर्लाहीको धनकौलमा आगलागीबाट १३ घर जलेर नष्ट


जनार्जन खत्री
सर्लाही, चैत १२ गते । सर्लाहीको दक्षिणी ग्रामीण भेगमा पर्ने धनकौल गाउँपालिका –५, पासवान बस्तीमा शनिबार दिउँसो आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएको छ । दिउँसो १ बजेपछि स्थानीय प्रदीप पासवानको घरबाट अचानक सुरु भएको आगलागीले बस्तीका १३ वटा घर जलेर खरानी भएको हो ।

आगलागीमा परेर प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, सितल पासवान, बिकाउ पासवान, जितन पासवान, रामविश्वास पासवान, गगन देव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूर्णरुपमा जलेर नष्ट भएको धनकौल गाउँपालिका –५, का वडाध्यक्ष गजेन्द्र महतोले जानकारी दिनुभयो । उहाँकाअनुसार आगलागीबाट जलेका अधिकांश फुसको छानो भएका कच्ची घरहरु रहेका छन् ।

आगलागीबाट स्थानीय गगन हजारीको घरमा आंशिक क्षति पुगेको छ । आगलागीको कारण प्रष्ट भइसकेको छैन । शनिबार दिउँसो तीव्र गतिमा हावा चलेको समयमा आगलागी भएकाले धेरै क्षति हुन पुगेको वडाध्यक्ष महतोले बताउनुभयो । आगलागी स्थानीयवासी, सुरक्षाकर्मीसहित सदरमुकाम मलङ्गवा नगरपालिका र हरिवन नगरपालिकाबाट पुगेको दमकलको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिनुभयो ।

प्रनाउ यादवकाअनुसार आगलागीबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी छ । आगलागीपछि अतिविपन्न पीडितको बिचल्ली भएको छ । पीडितहरुलाई तत्कालका लागि आफूले आफ्नै घरमा शरण दिएर राखेको वडाध्यक्ष महतोले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?