logo
२०८१ बैशाख ८ शनिवार



कामको प्रचार नहुँदा जनता झुक्किए : मन्त्री बिश्वकर्मा

खुला |
प्रदेश |


कामको प्रचार नहुँदा जनता झुक्किए : मन्त्री बिश्वकर्मा


अमरराज नहर्की
तनहुँ, चैत १३ गते । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले नेपाली काँग्रेसले काम गरेपनि प्रचार नहुँदा जनता झक्किएको बताउनुभएको छ । काँग्रेस व्यास नगरसमितिले शनिबार दमौलीस्थित पार्टी कार्यालयमा गरेको भेलामा मन्त्री विश्वकर्माले सो कुरा बताउनुभयो ।

देशमा शान्ति ल्याउने, निकास दिने र विकास दिने पार्टी नै काँग्रेस भएकाले सो कुरा जनतालाई बुझाउन आवश्यक रहेको उहाँले बताउनुभयो । विगतको निर्वाचनपछि गरिएका कार्यहरु पूरा भएको छ छैन त्यसको अध्ययन गर्नु आवश्यक रहेको उहाँको भनाई छ । कम्युनिष्टहरुले काँग्रेसको पालामा गरेको विकास योजना तथा विभिन्न कार्यहरु आफूले गरेको भन्दै भ्रम छर्ने काम गरेको मन्त्री विश्वकर्माले टिप्पणी गर्नुभयो ।

गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङले ग्रामीण क्षेत्रमा देखिएका मौलिक हकअन्तर्गतका खानेपानी, स्वास्थ्य, शिक्षाको अभाव पूर्ति गर्न प्रतिवद्धता गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा काँग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले काँग्रेसको निर्वाचनमा देखिएको तिक्ततालाई भुलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । काँग्रेस एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेकाले विगतका तिक्ततालाई थाति राखेर स्थानीय निर्वाचनतर्फ ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।

काँग्रेस तनहुँका निवर्तमान सभापति वैकुण्ठ न्यौपानेले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्न प्रत्येक वडा, गाउँ, नगरमा नेताहरु सशक्त ढंगले प्रस्तुत हुनुपर्ने बताउनुभयो । नेपाली कांग्रेस व्यास नगर समितिका सभापति सूर्यचन्द्र हड्खलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेस गण्डकी प्रदेश सदस्य शान्तिरमण वाग्ले, महाधिवेशन प्रतिनिधि एवं राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, महासमिति सदस्य पवित्रा पौडेल, व्यास नगरका उपसभापति सुर्जकुमार मल्ल, सचिव सुरेश पुरी लगायतले धारणा राख्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?