logo
२०८० चैत्र १५ बिहीवार



स्रोत नखुलेको ११ लाखभन्दा बढी रकम बरामद

खुला |
प्रदेश |


स्रोत नखुलेको ११ लाखभन्दा बढी रकम बरामद


सन्तोष सुवेदी
सिराहा, चैत १३ गते । सशस्त्र प्रहरी बल सिराहाले शनिवार साँझ ११ लाखभन्दा बढी स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजारबाट लाहानतर्फ ल्याइरहेको सो रकम सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनी बर्दिबास महोत्तरी र सशस्त्र प्रहरी वल नं. ७ गण हेडक्वार्टर सिराहाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले रकम बरामद गरेको हो ।

बरामद भएको रकमसँगै भगवानपुर गाउँपालिका –४ मा बस्ने दिलीपकुमार साहलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नं. ७ गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थापाले साहलाई भगवानपुरबाटै पछ्याएर लाहानमा पक्राउ गरेको जानकारी दिनुभयो । साहले रकमको स्रोत खुलाउन नसकेकाले उक्त रकम हुण्डी कारोबारसँग सम्बन्धित रहेको सप्रउ थापाले जानकारी दिनुभयो ।

साहबाट ८०३ थान हजारका नोट, चारसय वटा पाँच सयको नोट, ९९९ वटा सयको र एक थान ५० को नोट गरेर ११ लाख तीन हजार ५० रुपियाँ बरामद भएको छ । बरामद भएको रकमसहित पक्राउ परेको साहलाई माडर भन्सार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?