logo
२०८१ बैशाख ७ शुक्रवार



सडकमार्गसँग जोडियो रातामाटा, गाउँबासीमा खुसीयाली

खुला |
प्रदेश |


सडकमार्गसँग जोडियो रातामाटा, गाउँबासीमा खुसीयाली


लोकेन्द्र जोशी
दार्चुला, चैत १३ गते । दार्चुलाको लेकम गाउँपालिकाको केन्द्र रातामाटामा सडक पुगेको छ । गाउँपालिकाले आफ्नै स्काभेटर मेसिन प्रयोग गरेर गोकुलेश्वर–लाली सडकबाट बगौरा–रातामाटा सडकखण्ड निर्माण गरेर रातामाटामा सडक पुगेपछि स्थानीय खुशी हुनुभएको हो ।

गाउँपालिकाको केन्द्रसम्म सडक विस्तार भएपछि नजिकका गाउँमा खुसीयाली छाएको लेकम–२ का वडासदस्य पदमराज जोशीले बताउनुभयो । गाउँपालिकाको केन्द्रमा सडक पुगेसँगै प्रशासकीय भवन निर्माणको काम सुरु गर्ने तयारी भइरहेको छ । गाउँपालिकाको केन्द्रसम्म सडक पुगिसकेको छ, गाउँपालिका अध्यक्ष परमानन्द जोशीले भन्नुभयो ।

विगतमा सडक नहुँदा ठेकेदारले प्रशासकीय भवन निर्माणमा ढिलाइ गरेको स्थानीयको आरोप छ । स्थानीय तहमा जनप्रतिनिधि आउनुभन्दा पहिले लेकम गाउँपालिकाको कुनै पनि वडामा सडकमार्गको पहुँच पुगेको थिएन । विगत चार वर्षमा ६ वटै वडामा गरेर ६५ किलोमिटर बढी सडक निर्माण गरिएको गाउँपालिका अध्यक्ष जोशीले बताउनुभयो ।

गाउँपालिकाले आफ्नै मेसिन प्रयोग गरेर धमाधम सडक निर्माण गरेको उपाध्यक्ष माधवी जोशीले जानकारी दिनुभयो । यसअघि गाउँपालिकाको अस्थायी कार्यालय खरकडासम्म प्रशासनिक कामकाज हुँदैआएकोमा चालु आर्थिक वर्ष २०७८–७९ को कात्तिक मसान्तमा गाउँपालिकाले स्थायी केन्द्र रातामाटाबाट प्रशासनिक कामकाज सुरु गरेको थियो ।

रातामाटामा सडक पुगेसँगै दुई नगरपालिका र सात गाउँपालिका गरी नौँ स्थानीय तह रहेको दार्चुलाका आठ स्थानीय तहको केन्द्रसम्म सडकमार्गको पहुँच पुगेको छ । अपि हिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा अझै सडकमार्गको पहुँच नपुगेको स्थानीयको भनाइ छ । अपि हिमाल गाउँपालिका –५ मकरीगाडसम्म मात्रै सडकको ट्रयाक खुलाइएको छ । अपि हिमालका वडा १, २, ३, ४ र ६ अझैपनि सडकमार्गबाट वञ्चित छ । भगौलिक कठिनाइ, निर्माण व्यवसायीको लापरवाही, बजेट अभाव र राजनीतिक अवरोध लगायत कारणले सडक निर्माणमा ढिलाइ भइरहेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो ।

व्यासमा २५ किलोमिटर सडक बन्ने
व्यास गाँउपालिकामा २५ किलोमिटर लामो सडक निर्माण गरिने भएको छ । श्रीवगड–रामवगड–कालागाड–वडुगाँउ–धौलाकोट–डोकट हुँदै गाँउपालिकाको केन्द्र सुन्सेरासम्म सडक निर्माण गर्न लागिएको हो ।

प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम कार्यान्वयनका लागि त्रिपक्षीय समझदारी भएको छ । समझदानीपत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फबाट शङ्करप्रसाद पण्डित, प्रदेश सरकारको तर्फबाट प्रेमदत्त भट्ट, गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले हस्ताक्षर गरेको गाउँपालिकाले जनाएको छ । यो सडक ४ वर्षभित्र कालोपत्रेसहित निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?