logo
२०८१ बैशाख १३ बिहीवार



दार्चुलाका ६० प्रतिशत घरधुरीमा बलेन बिजुली

खुला |
प्रदेश |


दार्चुलाका ६० प्रतिशत घरधुरीमा बलेन बिजुली


लोकेन्द्र जोशी
दार्चुला, चैत १३ गते । दार्चुलाका ६० प्रतिशत परिवार अझै पनि विद्युतको पहुँचबाट बाहिर छन् । २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार दार्चुलामा २९ हजार १८६ घरपरिवारको बसोबास छ । जसमध्ये ६० प्रतिशत अर्थात १७ हजार घरधुरीमा अझै राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेको छैन् । जिल्लाभरीका करिब १३ हजार परिवारको पहुँचमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र दार्चुलाका प्रमुख मोहनदेब जोशीले जानकारी दिनुभयो ।

३० मेगावाट क्षमताको चमेलिया लगायत साना ठूला जलविद्युत उत्पादन गरेको दार्चुलामा अहिलेसम्म आधाभन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य छन् । राष्ट्रिय प्रसारण लाइनको बिजुली नपुगेका केही घरधुरीमा लघु जलविद्युत र सौर्य उर्जा (सोलार) भएपनि अधिकांस घरधुरी अन्धकारमा बस्न बाध्य भएको अपिहिमाल गाउँपालिकाका स्थानीय जनक ठेकरेले बताउनुभयो ।

दार्चुलाका दुई नगरपालिका तथा पाँचवटा गाउँपालिकाका विभिन्न स्थानमा विद्युतीकरण गरिएको र चालू आर्थिक वर्षमा जिल्लाका नौवटै स्थानीय तहमा विद्युतीकरणको काम भइरहेको विद्युत वितरण केन्द्र दार्चुलाका प्रमुख जोशीले बताउनुभयो ।

दार्चुलाको नौगाड र अपि हिमाल गाउँपालिकामा अझै राष्ट्रिय प्रसारण लाइन पुगेको छैन् । सन् २०२२ सम्ममा नेपालको सबै भूभागमा विद्युत पु¥याउने लक्ष्य लिएको नेपाल सरकारले एक वर्षभित्र दार्चुलामा पनि विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको छ । तर अहिलेकै गतिमा काम हुने हो भने दार्चुलाको सबै परिवारमा विद्युतको पहुँच पुर्याउन बर्षौ लाग्नसक्ने देखिएको विद्युतकै कर्मचारीको भनाई छ ।

विद्युतिकरण भएको ठाउँमा समेत नियमित विद्युत आपुर्ती नहुदा समस्या हुने गरेको महाकाली नगरपालिकाका स्थानीय नरेन्द्र बडालले बताउनुभयो । बेलाबेला विद्युत सेवा अवरुद्ध हुनेगरेको स्थानीयको गुनासो छ ।
दार्चुलालाई चालु आर्थिक वर्षभित्र शतप्रतिशत विद्युतीकरण गरिसक्ने योजना भएपनि लक्ष्यअनुसार काम नभएको स्थानीयको गुनासो छ । समुदाय तहसम्म विद्युतीकरण छिटोछरितो हुन नसकेको साँचो हो, विद्युत वितरण केन्द्र दार्चुलाका प्रमुख जोशीले भन्नुभयो, “उपकरण अभाव, भौगोलिक विकट्ता र बजेट अभावले समस्या भइरहेको छ । विद्युत लाइन विस्तार भएको ठाउँमा समेत मिटर अभावमा विजुली बाल्न समस्या भएको छ ।”

दार्चुलामा विगत लामो समयदेखि विद्युत मिटरको अभाव देखिएको छ । जिल्लामा तत्काल एक हजार मिटर आवश्यक रहेको विद्युत वितरण केन्द्र दार्चुलाले जनाएको छ । लेकम, मालिकार्जुन, दुहुँ र शैल्यशिखरका विभिन्न गाउँमा विद्युत चार्ज भइसक्दा समेत मिटर अभावमा स्थानीयले बिजुली बाल्न पाएका छैनन् ।

अहिलेसम्म ठेक्का भइसकेका स्थानमा मात्रै पाँचसय किलोमिटर तार आवश्यक छ, उहाँले भन्नुभयो, “ट्रान्सफर्मर र मिटरको समेत अभाव देखिएको छ ।” दार्चुलाका सबै स्थानीय तहमा थप विद्युतिकरणका लागि झण्डै ९ करोड बजेटको ठेक्का आह्वान भएको छ । प्रयाप्त निर्माण सामग्री र बजेट उपलब्ध नभए समयमै विद्युतीकरण गर्न सकिने अवस्था नरहेको विद्युत वितरण केन्द्र दार्चुलाका प्रमुख मोहनदेब जोशीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?