logo
२०८१ बैशाख ११ मंगलवार

  सर्लाही बस दुर्घटना अपडेट  



मृतक चारमध्ये दुई जनाको सनाखत

खुला |
प्रदेश |


मृतक चारमध्ये दुई जनाको सनाखत


जनार्जन खत्री
सर्लाही, चैत १३ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोरमा आइतबार भएको बस दुर्घटनामा मृत्यु भएका चार जनामध्ये दुई जनाको सनाखत भएको छ । वीरगञ्जबाट जनकपुरका लागि हिडेको ना ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ११ बजेतिर लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलाको पुलबाट तल खसेर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा ३२ जना घाइते भएका थिए । मृतकमध्ये आइतबार अपरान्हसम्म दुई जनाको मात्रै सनाखत भएको छ । मृतक सिन्धुलीको तीनपाटन गाउँपालिका –२, का ३० वर्षीया शर्मिला कार्की श्रेष्ठ र भारतीय नागरिक अन्दाजी २४ वर्षीय सुनिल यादवको सनाखत भएको प्रहरीले जनाएको छ । मृतक सिन्धुलीका कार्की श्रेष्ठ तीन महिने सुत्केरी रहेको बुझिएको छ ।

दुर्घटनामा शर्मिलाको तीन महिने छोरी अवासी श्रेष्ठ घाइते भएकी छिन् । उनको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य दुई मृतकको भने सनाखत हुन बाँकी रहेको प्रहरीको भनाई छ । थप दुईको पनि सनाखतको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बताउनुभयो ।

प्रहरी निरीक्षक थापाकाअनुसार मृतक चारै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । दुर्घटनामा घाइते भएका ३२ जना यात्रुमध्ये गम्भीर अवस्थाका १० जनालाई काठमाडौं, वीरगञ्ज, बर्दिवासलगायतका स्थानमा रेफर गरिएको र सामान्य घाइते २२ जनाको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको लालबन्दी प्रहरीले जनाएको छ । सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बस दुर्घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको बताउनुभयो ।
प्रारम्भिक अनुसन्धानअनुसार साँघुरो पुलमा विपरीत दिशाबाट आइरहेको एउटा टाटासुमोलाई साइड दिन खोज्दा बस पुलबाट तल खोलामा खसेको देखिएको छ । दुर्घटनामा बसचालक बाराको कलैया उपमहानगरपालिका –१२, का ४८ वर्षीय ज्योतिप्रसाद साह घाइते हुनुभएको छ । उहाँको प्रहरी निगरानीमा उपचार भइरहेको छ ।

सर्लाहीका ट्राफिक प्रहरी प्रमुख केदारमान दोङकाअनुसार पुलबाट करिव १३ फिट तल बस खसेको छ । दुर्घटनालगत्तै लालबन्दी, फूलजोर, बयलवासलगायत स्थानबाट खटिएका नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेलाई घटनास्थलबाट उद्धार गरी लालबन्दीका विभिन्न अस्पताल पुर्याउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?