logo
२०८१ बैशाख ११ मंगलवार



भारतले घोषणा गरेको सहयोग रकम आउँछ : नितेश कुमार

खुला |
प्रदेश |


भारतले घोषणा गरेको सहयोग रकम आउँछ : नितेश कुमार


धीरेन्द्रप्रसाद साह
जनकपुर, चैत १३ गते । भारतीय महाबाणिज्य दूतावास बिरगञ्जका बाणिज्यदूत नितेश कुमारले जनकपुरधामको विकासका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभएको आर्थिक सहयोग चाँडै आउने बताउनुभएको छ । भारतीय महाबाणिज्य दुतावास बीरगञ्ज कार्यालयले जनकपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । भारत सरकारले जनकपुरधामको समग्र विकासका लागि आर्थिक सहयोग प्याकेजमा ल्याउन सम्बन्धित निकायसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

करिब चार वर्षअघि जनकपुर भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधामको समग्र विकासमा टेवा पुग्ने उद्देश्यले एक अर्ब रुपियाँको आर्थिक सहयोग प्रदान गरिने घोषणा गर्नुभएको थियो । सो रकम कुन योजनामा कसरी खर्च गर्ने विषयमा मधेस प्रदेशका मुख्यमन्त्री, जनकपुरधाम उपमहानगरपालिका प्रमुख, प्रदेशका नीति योजना आयोगका पदाधिकारीलगायत सरोकारबालासँग छलफल भइरहेको उहाँले बताउनुभयो । सुझाव, सल्लाह र योजनाअनुसार उहाँहरु ठोस निर्णयमा पुगेपछि रकम आउँछ, यसमा ढुक्क हुनुस् उहाँले भन्नुभयो ।

सो अवसरमा भारतको महाबाणिज्य दूतावास बिरगञ्जले पछिल्लो एक वर्षभित्र मकवानपुरको वागमती निम्न माध्यमिक विद्यालय, सर्लाहीको बालगोबिन्द जनता माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालय भवन निर्माण र चितवनको गुञ्जमान सिंह अस्पताल, राष्ट्रिय प्राथमिक विद्यायलको निर्माण सम्पन्न गरी उद्घाटन गरिएको जानकारी दिनुभयो । भारतीय सरकारको सहयोगमा विभिन्न स्थानमा सञ्चालित योजनाको अनुगमन गरी समयमै सम्पन्न गर्न पहल गर्ने उहाँले जानकारी दिनुभयो ।

बारा, पर्सा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा बागमती प्रदेशको चितवन र मकवानपुर गरी आठ वटा जिल्लालाई कार्यक्षेत्र बनाएर महाबाणिज्य दूतावासले शिक्षा, स्वास्थ्य, साँस्कृतिकलगायतका क्षेत्रमा काम गर्दैआएको उहाँले बताउनुभयो । महाबाणिज्य दूतावासले एम्बुलेन्स र स्कूल बसहरु प्रदान गर्न सिफारिश गर्दैआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?