logo
२०८१ मंसिर ८ शनिवार



बीस हजार भूमिहीनलाई लालपुर्जा वितरण

खुला |


बीस हजार भूमिहीनलाई लालपुर्जा वितरण


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १४ गते । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार भूमिहीनले जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) पाएको बताउनुभएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ को गाउँब्लकमा रहेका ९६ घरपरिवारलाई आइतबार लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले यसबारे जानकारी गराउनुभएको हो । आफूले मन्त्रालय सम्हालेपछि गाउँब्लकमा लालपुर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

चार महिनाको अवधिमा गाउँब्लकमा रहेका १९ हजार छ सयभन्दा बढी भूमिविहीनलाई लालपुर्जा वितरण गरिसकिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अबको एक वर्षभित्र सबै गाउँब्लकको समस्या समाधान गरिसक्ने गरी कामलाई तीव्र पारिएको छ । ”संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले भन्नुभयो, “जनताका पिर, मर्का र समस्यासँग सम्बन्धित विषयलाई प्राथमिकतामा राख्न म स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्दछु । ”

मन्त्री श्रेष्ठले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत काम सुरु गरिसकेको पनि जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुषा, सुनसरी, चितवनको इच्छाकामना गाउँपालिका, काठमाडौँको कीर्तिपुर नगरपालिका, भक्तपुरको मध्यपुर ठिमी नगरपालिका, तनहुँको बन्दीपुर र चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमिविहीनलाई लालपुर्जा वितरण गरिसक्नुभएको छ । २०२१ सालयता जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपुर्जाविहीन बनिरहेकाहरूलाई लालपुर्जा वितरण अभियान तीव्र पारिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?